दुर्गमका विद्यालयमा पुस्तकालय


सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाहरुको आकर्षण बढ्दै गएको छ । सरकारी पठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीहरुमा पढ्ने बानीमा विकास हुन थालेको विद्यालयहरुले बताएका छन् ।

फिलर्स नेपालको सहयोगमा सोलुखुम्बुका छ वटा विद्यालयमा पुस्तक सहितको पुस्तकालय तयार गरेपछि बालबालिकाले रमाइलोसँग पढ्न थालेका हुन् । गाउँ गाउँमा रहेका विद्यालयहरुमा कसरी राम्रो किताब पु¥याउन सकिन्छ भन्ने उद्देश्यले पहिलो चरणमा सोलुखुम्बुका छ वटा विद्यालयलाई करिब पाँच सय थान किताब सहयोग गरेको संस्थाकी प्रमुख याङकी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बु घर भएकी शेर्पाले ग्रामिण भेगका विद्यालयमा कक्षागत बाहेकका किताब उपलब्ध नहुने र विद्यार्थीले त्यस्ता किताब पढ्न नपाउने सुनेपछि आफूलाई सहयोग गर्न लागेको बताउनुभयो । भौगोलिक विकटताले गाउँका बालबालिका धेरै सुबिधावाट बञ्चित छन् जसमा आफूले चाहे जस्तो किताब पढ्न नपाउँदा विद्यार्थीको चौतर्फी विकासमा असर पर्दछ– उहाँले भन्नुभयो ।

विद्यालयमा विद्यार्थीको संख्या हेरी ५० देखि ८० थानसम्म किताब विद्यालयलाई प्रदान गरिएको छ । बालबालिकालाई लक्षित नेपाली र अङ्ग्रेजी भाषाका राम्रा राम्रा किताब विद्यालयलाई दिइएको शेर्पाले बताउनुभयो । भारतको सिक्किममा अध्ययन गरेकी शेर्पाले भन्नुभयो –आफूले पढेको र सोलुखुम्बुको गाउँ गाउँमा प्रदान गरिने शिक्षामा धेरै फरक रहेछ, यहाँ तीक्ष्ण बालबालिका र मेहनती शिक्षक शिक्षिका छन् तर स्रोत साधनको अभाव छ, यस पुस्तकालयका माध्यमबाट बालबालिकाको सिकाई अभिवृद्धि गर्न सकिन्छ ।

बालबालिकाको रुचिअनुसारको किताब दिनुपर्ने बताउने याङकीले आफ्नो व्यक्तिगत खर्च कटौती गरेर विद्यालयहरुलाई सहयोग गरेको बताउनुहुन्छ । वर्षा सिजन भएकाले छ वटा विद्यालयमा किताब पु¥याएर वितरण गर्न झण्डै एक महिना लागेको छ । बच्चाहरु टिभी र मोबाइलप्रति भुल्न थालेर पुस्तक पढ्न छाडेको शेर्पाले बताउनुभयो । विद्यालयहरुलाई किताब सहयोग गर्ने क्रम निरन्तर चलिरहने उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा सामान्य लगानीमा पुस्तकालय निर्माण गरिएपछि फिलर्सले किताब सहयोग गर्ने गरेको छ । फिलर्सले अहिलेसम्म सोलुखुम्बुको खिरौले आधारभूत विद्यालय, चेपेल प्राथमिक विद्यालय, जुके आधारभूत विद्यालय, दुधकुण्ड हिमालय आधारभुत विद्यालय फाप्लु, हिमालय शेर्पा क्लब छिनाक्पु र वी.पी. संस्कृत माध्यमिक विद्यालय सल्यानमा किताबका साथमा स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ ।

फिलर्सले गरेको सहयोग राम्रो रहेको र विद्यार्थीहरुले नयाँ र फरक किताब चाख दिएर पढिरहेको वी.पी. संस्कृत माध्यमिक विद्यालय सल्यानका प्रधानाध्यापक गुणराज निरौलाले बताउनुभयो । अहिले विद्यार्थीहरु चाख दिएर पढ्न थालेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार