३० चैत, काठमाडौं । नेपालका सर्वाधिक लोकप्रिय दुई खेल हुन् फुटबल र क्रिकेट । वर्ष २०७३ मा नेपाली खेलकुदको घामछायालाई यिनै दुई खेलले प्रतिनिधित्व गरेका छन् ।
यो वर्ष नेपाली फुटबलका सुखद रह्यो तर क्रिकेटका लागि दुःखद । फुटबलमा नेपालले एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै फुटबल संघले लामो समयपछि नयाँ नेतृत्व पायो । यता क्रिकेटमा भने नेपाललाई गहिरो चोट लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आन्तरिक विवादलाई कारण देखाउँदै नेपालको क्रिकेट संघलाई निलम्बन गरिदियो ।
यो बाहेक निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी आयोजना भएको राष्ट्रिय खेलकुदको सातौं संस्करण सम्पन्न हुनुलाई यो वर्षको हाइलाइट्सका रुपमा लिन सकिन्छ । यस प्रतियोगिताले नेपाली खेलाडीहरुमा नयाँ रक्त सञ्चार गरेको छ । यद्यपि, व्यवस्थापन र पूर्वाधारको हिसाबले उक्त खेलमेलाको आलोचना गर्ने विषयहरु धेरै रहे ।
गत बर्ष ओलम्पिक कमिटीको साधारणसभा विबादरहित रुपमा सम्पन्न भई जीवनराम श्रेष्ठले जिम्मेबारी संहालेयता शान्त देखिएको ओलम्पिक बिवाद यो बर्ष पुनः देखियो । सर्बोच्च अदालतले आफूले दिएको परमादेश लागू गर्न गृह मन्त्रालयलाई ताकेता गरेपछि निश्क्रिय प्रायः रहेको रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी जुर्मुरायो ।
सर्बोच्चले पाँच बर्षअघि उनी नेतृत्वको ओलम्पिक कमिटीलाई आधिकारिक घोषणा गरेपनि ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटीले आफू अन्तर्राष्ट्रिय मान्यतामा रहेको अडानका साथ रहेका थिए ।
नेपाली खेलकुदका यस्तै सुखदुखबारे यहाँ चर्चा गरिएको छ ।