डिपिएलमा रुपन्देहीको लगातार दोस्रो जित

३० चैत, कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सिआइवी अत्तरियालाई ४२ रनले पराजित गरेको छ ।

सेती अञ्चल प्रहरी मैदान धनगढीमा आज सम्पन्न खेलमा अत्तरियाका बलरहरु निरिह बन्दा रुपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो जसमा १७ वाइड, ५ नो बल र ६ लेग बाइ छ ।

अग्रपंक्तिका ब्याट्सम्यानहरु यस्तैमा पेविलियन फर्किएपछि रुपन्देहीका राजेश पुलामी र प्रकाश केसीले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । पुलामीले ३१ तथा केसीले २९ रन बनाए । बलिङतर्फ अत्तरियाका बिनोद लामा र प्रदीप ऐरीले २/२ विकेट लिएका थिए ।

१३० रनको लक्ष्य पछ्याउने क्रममा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया ८७ रनमै समेटियो । रुपन्देहीका बलरहरुको शानदार बलिङ आक्रमणखसामू अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

कप्तान मल्लको ब्याटबाट निस्किएको ३० रन नै अत्तरियाका ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भएका थिए ।

बलिङतर्फ सहव आलमको प्रदर्शन उत्कृष्ट रहृयो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । बिक्रम सोवले २ विकेट लिए भने कप्तान शक्तिको बलिङ पनि किफायती रहृयो । ४ ओभरमा उनले १ मेडन राख्दै मात्र ६ रन खर्चेर एक विकेट लिए ।

खेलको म्यान अफ द म्याचसमेत बनेका आलमकै उत्कृष्ट बलिङको सहयोगमा पहिलो खेलमा पनि रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई पराजित गरेको थियो । त्यस खेलमा उनले ३ विकेट झारेका थिए । यता पहिलो खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्सलाई हराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार