असद कसाई हुन्, सिरियाको गृहयुद्ध अन्त्य होस्ः ट्रम्प

३१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डानाल्डो ट्रम्पले सिरियाका राष्ट्रपति बसर अल असदलाई कसाईको संज्ञा दिएका छन् । साथै उनले सिरियाको गृहयुद्ध अन्त्य हुनु पर्ने बताए ।

नेटोका महासचिव जेन्स स्टाल्टेनबर्गसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले नागरिक नरसंहारको आलोचना गरे ।

हालै सिरियाको बिद्रोही नियन्त्रित इलाकामा भएको संदिग्ध रसायनिक आक्रमणमा बालबालिकासहित धेरैको ज्यान गएको थियो ।

रसायनिक आक्रमणबारे रुसको प्रतिक्रिया निकै निराशाजनक रहेको भन्दै ट्रम्पले सिरियाको सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गर्ने निर्णय सही भएको बताए ।

पत्रकार सम्मेलनमा ट्रम्पले नेटोको औचित्य समाप्त भइनसकेको बताए । यसलाई नेटोबारे ट्रम्पको धारणा परिर्वतनका रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

नेटोको महासचिवलाई ह्वाइट हाउसमा स्वागत गर्दै राष्ट्रपति ट्रम्पले चरमपन्थीको खतराले नेटोको महत्व दर्साउने बताए । साथै नेटोले अफगानिस्तान र इराकी सहयोगीको मदतका लागि अझ काम गर्नु पर्ने बताएका छन् ।

यसअघि ट्रम्पले अमेरिकाले धेरै खर्च व्यहोरेको भन्दै नेटोमाथि प्रश्न उठाउँदै आएका थिए । तर, बुधबारको कदम नेटोलाई लिएर ट्रम्पको युटर्न मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार