उदीपराज ढुंगानाको कथा: पुतली

सुनसान लेकसाइड । भर्खरै दुलही अन्माएको घर जस्तो । मेरा दुई आँखाले एकातिर फेवाताल अर्कोतिर दरबार हेरिरहेको छ । दुवै विराजमान छन् पोखराको छातीमा । चुरोट सल्काएँ । छोटो कट्टु । छोटै टिसर्ट । कन्भर्स सुज । हातमा अमेरिकन क्यारियर लगेज । खुला छोडिएको कपाल । कपालमा गगल्स । कानको सेतो एयरफोन झिक्दै उसले सोधी- दाजु, यहाँबाट कति मिनेट लाग्छ मन्दिर पुग्न ?

‘तपाईंमा भर पर्छ । तीन वा १३ !’

‘थ्यांक यू !’

पुसको महिना । कट्टु र टिसर्ट बीचमा एक बित्ताको ग्याप । पछाडिको भाग गितारले छोपिएको छ । दरबारको गेटको सामुन्ने उसले चुरोट सल्काई । गज्जबले चुरोट तान्दिरहिछ । धूवाँ फाल्ने तरिका अझै गज्जब ! गोल-गोल बनाएर फाली टाढासम्म पुग्ने गरी । कहिल्यै त्यो काइदाले यो १२ वर्षमा चुरोट तनाइ गर्न सकिएन । अग्लो, काटिकुटी युरोपियन ज्यानले चश्मा र एयरफोन लगाई । आकाशतिर हेरी । आधा भएको चुरोट खुट्टाले मिची । उसलाई पर दरबारको पर्खालले नछेकेसम्म हेरिरहेँ ।

टाई । सुट । पार्टी सुज । बिहान ८:३० बजे प्रस्थान घरबाट । बेलुकी ६:३० बजे प्रस्थान घरका लागि । रिमोटले चलाइएको टीभी जस्तो जिन्दगी । दिउँसोभरि साउथ इन्डियन नायकलाई जस्तो भागमभाग । बेलुकी स्टार प्लसको कुनै फेमिली ड्रामा । बिहान रि-टेलिकास्ट । धन्न बिहे भएको छैन । गर्न मन लागेको छैन । नत्र एकता कपूरलाई क्यारेक्टर खोज्न कतै जानुपर्दैन । म र मेरो वरिपरि घुमाए पुग्छ क्यामेरा । राजेश हमालले पनि बिहे गर्‍यो । मिथिला शर्माले पनि बिहे गरी । आखिर गर्नैपर्छ भने किन तिनीहरुलाई नै पछ्याउने ? बुवाको गुनासो । आमाको कचकच । दाइ, भाउजू, दिदी-भिनाजुहरुको सटायर । धन्न सहेको छु, जिउँदै छु !

मैले मेरो पर्सानालिटी (!?) अनुसारले उसलाई त्यसरी जवाफ दिनु हुँदैन थियो । टिकट काउन्टर अगाडि पुग्दा ऊ अलि पर भुइँमा सुतेर फोटो खिच्न तल्लीन छे । क्यामेरा मन्दिरतिर फर्केको छ । उसले मलाई देखिन । वास्ता गरिन वा गर्न जरुरी ठानिन ।

मैले उसैको छेउमा पुगेर चुरोट सल्काए । मोबाइल निकालेर फोन गरेँ हाकिमलाई, ‘सर, एकछिन समय लाग्ने भो । प्रपर्टी हेर्दै छु ।’

ऊ अझै पुरानै काममा व्यस्त छ ।

‘मैले तपाईंलाई त्यसरी उत्तर दिनु हुँदैन थियो । सरी !’ मैले थचक्क बस्दै भनेँ ।

‘तपाईंको सुटमा फोहोर लाग्ला’, ऊ जुरुक्क उठी ।

एक बित्ता खाली ठाउँमा भरिएको धूलो-मैलो रुमालले सफा गरी । खुट्टाको पचहत्तर प्रतिशत भाग पनि त्यही प्रक्रियामा सफा भयो ।

‘तपाईंको उत्तरले मैले खोजेको जवाफ दिएको थियो । मैले बुझेँ, मेरो यात्रा मन्दिरसम्म पुग्न मात्र तीन मिनेट छ । नो निड टु फिल सरी !’

उसले फोटोहरु खिचिरहेकी छे । लगत्तै भनी, ‘म तपाईंलाई एउटा कुरा देखाउँछु ।’

एउटी बूढी महिला मागिरहेकी छन्, भर्खरकी केटीले रु. १० उसलाई दिइरहेकी छे । सबै घटना प्रष्ट देखिन्छ फोटोमा ।

‘यू नो ? मागेर पाउने मान्छेभन्दा दिन पाउने मान्छे भाग्यमानी हुन् ।’

‘कसरी ?’ मैले सोधेँ ।

‘कहाँ कसैलाई त्यसै खुशी दिन सकिन्छ त, त्यो पनि नचिनेको र नदेखेको मान्छेलाई । आजकाल त हरेक ठाउँमा लेखिएको हुन्छ, सानैदेखि सिकाइन्छ- अरुले दिएको नलिनू, नखानू ! अब यो जमानामा चाहेर पनि कसैलाई केही दिन सकियोस् र पुण्य कमाउन सकियोस् भन्ने कहाँ रह्यो र ?’

‘पुण्य कमाउन ? यु मिन तपाईं यो सबै काम गरेपछि पुण्य कमाउन सकिन्छ भन्ने सोच्नुहुन्छ ?’

‘मैले तपाईं अनुसारको जवाफ दिएकी हुँ । आई डण्ट बिलिभ अन अल दिज थिङ्स । कसरी लाग्यो म यी कुरामा विश्वास गर्छु ?’

सुटेट बुटेट, निधारमा टीका त्यो पनि बिहानदेखिको ! सोमबार ! शिवकी भक्त भाउजू । म नाजवाफ ! कुरा गर्ने मन मरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार