हिउँले छोपिएको कालिञ्चोक बन्यो व्यस्त गन्तव्य

३१ चैत, दोलखा । धार्मिक र पर्यटकीय गन्तव्य कालिन्चोक यो वर्ष आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीमा रहेको कालिञ्चोक क्षेत्रको कुरी उपत्यका यो बेला खचाखच छ ।

हिमपातपछि हिउ खेल्न, मन्दिर दर्शन र दृश्यावलोकन गर्न आउने पर्यटकले पछिल्ला दिनहरुमा कुरी बजारसँगै सदरमुकाम चरिकोटका होटलहरु समेत पाहुनले भरिएका छन् । २ वर्षअघिको भूकम्पले तहसनहस बनाएको चरिकोट बजारले कालिन्चोकलाई गन्तव्य बनाउने पर्यटकका कारण मुर्झाउने अवसर पाएको छ ।

कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो उक्लिनुपर्छ । ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको मन्दिरमा राजधानी काठमाडौं सहित मुलुकका बिभिन्न भागबाट दैनिक हजारौंको संख्यामा पर्यटकहरु आउने गरेको स्थानिय होटल व्यवसायी चन्द्र तमाङले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको ब्यवस्थापन गर्न स्थानिय होटल व्यवसायीलाई भ्यानभ्याईको अवस्था छ यसपटक । कुरी बजारका होटलमा पाहुना अटाउन नसकेपछि धेरैजसो पर्यटक सदरमुकाम चरिकोटमै बास बसेर भोलीपल्ट कालिञ्चोक उक्लने गरेका छन् ।

तामाङका अनुसार हिमपातपछी शुक्रबार र शनिबार मोटरसाईकल र बोलेरो गाडीहरुको ताँतीले कुरी बजार भरिन्छ । चरिकोटबाट बोलेरो रिजर्भ गरेर आउने देखी मोटरसाईकल आफ्ना निजी फोरह्विल गाडी लिएर आउनेहरुको ब्यवस्थापन गर्न कठिन भएपछी पर्यटकहरु बास बस्न चरिकोटनै झर्ने गरेका छन् । पर्यटकका लागी कुरी बजारभरी दुई दर्जन बढी होटलहरु सञ्चालनमा छन् ।

जाडोमा अत्याधिक चिसो हुने यस क्षेत्रमा खुलेका होटलहरुका कोठा काठले बारेर बनाईएका कारण रात बिताउदा चिसो अनुभव कम नै हुने गरेको व्यवसायीहरु बताउछन् । यस्तै पर्यटकको सत्कारका लागी होटलहरुले रातको समयमा क्याम्प फायर लगायतका कार्यक्रमको समेत व्यवस्था मिलाउने गरेको अर्का होटल ब्यवसायी शोनाम शेर्पाले बताए ।

बजारबाट झण्डै एक घण्टा पैदल चढेपछि टाकुरामा रहेको मन्दिरमा पुगिन्छ । ‘धेरै जसो बिहानै सुर्योदय हेर्ने गरी उकालो चढ्छन’ व्यवसायी शेर्पाले सुनाए । उनका अनुसार मन्दिर रहेको टाकुराबाट गौरीशंकर सहितका हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार