मोर्चाका नेताले ‘तास खेल्दा’ एमालेलाई घाटा, कांग्रेसलाई नाफा

  मात्रिका पाैडेल

१ बैशाख, काठमाडौं । वैशाख ३१ को स्थानीय निर्वाचन मधेसी मोर्चाले बहिस्कार गर्‍यो भने कुन पार्टीलाई फाइदा होला ? संघीय समाजवादी फोरम बाहेकका दलको चुनावी तयारी सुस्त देखिएपछि मधेसमै यो प्रश्न उठ्न थालेको छ । यद्यपि मोर्चाआवद्ध सबै दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।

मधेसी मोर्चाका नेता अनिल झाले चुनावका दिन मोर्चाका नेताहरु तास खेलेर बस्ने सार्वजनिक प्रतिक्रिया दिएका छन् । उनले भनेजस्तै चुनावमा मोर्चाले भाग लिएन र तास फिटेर बस्यो भने यसको असर कांग्रेस र एमालेलाई पनि पर्नेछ ।

उपेन्द्रमाथिको आशंका

सरकारले मोर्चालाई चुनावमा ल्याउने भन्दै संविधान संसोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेको भोलिपल्टै मोर्चाले त्यसमा असहमति जनाएर चुनाव बहिस्कारका घोषणा गरेको छ । तर यसबीचमै उपेन्द्र यादवको दलले भने चुनावमा उम्मेदवारको मनोनयन पत्रमा गर्ने हस्ताक्षरको नमूना समेत निर्वाचन आयोगलाई बुझाएका अन्य घटक झस्किएका छन् ।

त्यसो त उपेन्द्रको तयारी चुनाव केन्दि्रत नै देखिन्छन् । उनले यसबीचमा पर्सा, सप्तरी, रौतहट लगायतका जिल्लामा भावी उम्मेदवारहरुलाई पार्टी प्रवेशसमेत गराइसकेका छन् । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि सम्भवतः उनको पार्टी तेस्रो शक्ति बन्ने ढंगले अघि बढ्नेछ ।

उपेन्द्रको यो तयारी देखेरै अन्य सबै मोर्चा आबद्ध घटकहरु एकीकरणको तयारीमा छन् । पहाडमा संगठन बिस्तार गर्ने र मधेसमा अरु घटकलाई खुम्च्याउने उपेन्द्रको रणनीति प्रष्टै छ । उपेन्द्रको पार्टीको तयारी कुनै पनि बेला चुनावमा भाग लिने र त्यसका लागि जित्ने सामाजिक अनुहार पार्टीमा भित्र्याउने नै हो ।

तर उपेन्द्र समेत चुनावमा गएनन् भने मधेसको जनमत कसले लिन सक्ला ? मोर्चा नआए पनि चुनाव नरोकिने सरकार र निर्वाचन आयोगको भनाई तथा तयारीसँगै यो प्रश्न बलियो बनेको छ ।

मोर्चाको पछिल्लो बैठकमा एक नेताले चुनावको दिन तास खेलेर बस्ने व्यंग्यात्मक टिप्पणी गरेको चर्चा बाहिर आइसकेको छ । मोर्चा नेताकै भाषामा यदि उनीहरु चुनावको दिन तास खेलेर बसे भने सोझो घाटा चाहिँ एमालेलाई हुनेछ ।

मोर्चाका अरु दललाई छाडेर उपेन्द्र एक्लै चुनावमा जाने सम्भावना कमै छ । त्यस्तो अवस्थामा मोर्चालाई जाने मत मुख्यतः कांग्रेस र त्यसपछि माओवादीले लैजाने सम्भावना हुन्छ । किनकी एमालेलाई मधेस बिरोधी भनेर जसरी मोर्चाले प्रमुख दुश्मनको व्यवहार गरेको छ,उसको प्रभावका मत एमालेमा जान सक्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार