काठमाडौं, बैशाख १४ । बैंक स्थापनाको ६२औं वार्षिकोत्सवको अवसर पारेर विहिबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्रिय बैंकले मुलुकको आर्थिक स्थिती सकारात्मक रहेपनि न्यून पूँजीगत खर्च, घट्दो रेमिट्यान्स एवं व्यापार घाटा चुनौतीपूर्ण रहेको जनाएको हो ।
केन्द्रिय बैंकले व्याजदर करिडोर लागू गरेको, वैदेशीक मुद्रा विनिमय नियमन ऐन संशोधनको क्रममा रहेको जनाएको छ ।
वाणिज्य बैंकहरुको निष्कृय कर्जा २ दशमलब १३ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने अधिकारीहरुले बताएका छन् ।
गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७३/७४ नेपाली अर्थतन्त्रका लागि पुनरुत्थानको वर्षको रुपमा रहेको बताए ।
अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सकारात्मक रहेको, कृषि उत्पादनमा वृद्धि भएको, उर्जा आपूर्तिमा सुधार उनले उल्लेख गरे ।
आन्तरिक एवम् वाह्य लगानीको वातावरणमा भएको सुधार, वित्तीय क्षेत्रमा कायम रहेको स्थायित्व, न्यून मुद्रास्फीति, पर्याप्त विदेशी विनिमय संचिति तथा उच्च आर्थिक वृद्धि हासिल हुने अवस्थाको पृष्ठभूमिमा आर्थिक विकासको गतिलाई दु्रत ढंगले अगाडि बढाउने अवसर प्राप्त भएको उनको भनाई थियो ।
वार्षिकोत्सवको अवसर पारेर केन्द्रिय बैंकले पुर्व गभर्नर एवं अर्थविद् भेषबहादुर थापा र ५० वर्षदेखि राष्ट्र बैंकको नोट तथा सिक्सा डिजाइनका सदस्य संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको थियो ।