हिमशिखर समाचारदाता
सोलुखुम्बु । सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने प्रत्येक आरोहीले आठ केजी फोहोर सङ्कलन गरि आधार शिविरसम्म ल्याउनुपर्ने भएको छ । खुम्बु क्षेत्रमा लामो समयदेखि सरसफाइ सम्बन्धी काम गर्दै आएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) ले यस बर्ष पनि यो नियमलाई निरन्तरता दिन लागेको हो ।
सगरमाथा, ल्होत्से, नुप्से तथा आमादब्लम हिमाल आरोहणका लागि अहिलेसम्म ५१ समूहका ५०९ जना विदेशी तथा स्वदेसी आरोहीहरुले सरकारबाट आरोहण अनुमति लिएर आरोहणका लागि आधार शिबिरबाट उकालो लाग्न थालेकाले यस वर्ष अघिल्ला वर्षहरु भन्दा फोहोरको मात्रा बढ्ने देखिन्छ । ती सबै आरोहीहरुले चुचुरोमा पुगेर फर्कने क्रममा आफुले गरेको फोहोर सहित आठ केजी फोहोर सङ्कलन गरेर आधार शिबिरमा सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई बुझाउनुपर्ने एसपिसिसिका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो ।
यस क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही छ सय डलर लिने गरेको भएपनि गएको दुई बर्ष आरोहण कार्य स्थगित भएपछि अघिल्लो बर्षबाट मात्र कडाइका साथ कार्यान्वयन गरिएको राईले बताउनुभयो । यस अघि आरोहण कार्यमा सरसफाइलाई ध्यान नदिँदा सगरमाथाको क्याम्प एकदेखि दुईसम्मका स्थलहरुमा फोहोर धेरै थुप्रिएको र सगरमाथा प्रदुषित बन्दै गएकोमा त्यस क्षेत्रका सरोकारवालाहरुले चिन्ता ब्यक्त गर्दै आएका थिए ।
यता विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथा आरोहणको तयारीका लागि कस्मो ट्रेक प्रालिमार्फत क्याम्प–२ मा पुग्नुभएका किताबसिंह तामाङले त्यस क्षेत्रमा फोहोरको मात्रा बढेको बताउनुभयो । फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको उहाँले बताउनुभयो ।
नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी तीन भागमा वर्गीकरण गरिएको फोहोरलाई क्याम्प १ भन्दामाथि रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानुपर्ने कानुनी प्रावधान रहेको छ ।
आरोही तथा तीनका सहयोगीहरुले अक्सिजनका सिलिण्डर, क्यान, खाना खाने क्रममा उब्जीएका फोहोरहरु सङ्कलन गरेर ल्याउनुपर्ने नियम छ । यस नियमलाई कडाइका साथ पालना गर्न सके आगामी केही बर्षमै सगरमाथालाई फोहोर मुक्त बनाउन सकिने अधिकृत राईले दाबी गर्नुभयो ।
आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्रा बढेको बताइएको छ । उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा एसपीसीसीको नभएको बताइएको छ । पर्यटन विभागले क्याम्प दुईदेखि चुचुरोसम्मको बाटो सरसफाई गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । तर त्यसको कार्यान्वयन नहँुदा समस्या भएको हो ।
तस्बिर : एसपिसिसि