नेचामा ल्याण्डलाइन टेलिफोन सञ्चालन भएपछि नेचाबासी हर्षित


सन्तोष राउत
सोलुखुम्बु । सोलुुखुम्बुको दक्षिणी भेगमा पर्ने नेचा सल्यान गाउँपालिकाको केन्द्र रहेको नेचामा ल्याण्डलाइन टेलिफोन सञ्चालन भएपछि स्थानीयमा खुशीयाली छाएको छ । दुई वटा गाविस रहेको नेचामा विगत लामो समयदेखि गरिएको प्रयास सफल भएपछि सूचना तथा सञ्चार मन्त्रि सुरेन्द्रकुमार कार्कीलाई नेचाबाट स्थानीय अगुवा लोकेन्द्र राउतले टेलिफोन गरी सेवा सुरु भएको जानकारी गराएर उद्धाटन गरिएको हो ।
‘सूचना र प्रविधिको युगमा धेरै काम घरमै बसेर गर्ने क्रम बढेका बेला टेलिफोन सेवा सञ्चालनमा आएपछि हरेक क्षेत्रमा काम गर्न सजिलो हुने भएको छ’ स्थानीय अगुवा लोकेन्द्र राउतले भन्नुभयो । अब यससँगै इन्टरनेट चलाउने भएकाले गाउँको विकासमा सजिलो हुने उहाँले बताउनुभयो । मोबाइलको सेवा प्रभावकारी नभएका बेला सेवा सुरु भएपछि विद्यालय, स्थानीय व्यापारी, विद्यालयलगायत सबैलाई भरपर्दो सेवा हुने उहाँको भनाइ छ ।
पाँच सय लाइन क्षमता भएपनि हाल पहिलो चरणमा सरकारी कार्यालय तथा निजी गरी एक सय लाइन वितरण भइरहेको नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो । यसका साथमा एडिएसएल इन्टरनेट सञ्चालनका लागि आवश्यक उपकरण आगामी पनि ल्याउने तयारी गभइरहेको उहाँले बताउनुभयो ।
विगत लामो समयदेखि माग गर्र्दै आएका नेचाबासीहरुले टेलिफोन तथा इन्टरनेट सञ्चालनमा आउने भएपछि खुशी लागेको बताएका छन् । बाक्लो बस्ती तथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब एक दर्जन गाविसको बजार रहेको त्यस क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सञ्चालन हुने भएपछि थप सहज हुने स्थानीय व्यापारी सुजता लिम्बुले बताउनुभयो । यसअघि मोबाइल सेवा प्रभावकारी नहुँदा हैरान भएको भन्दै अब व्यासायमा सहज हुने उहाँको भनाइ छ ।
इन्टरनेट अभावकै कारण द्वन्द्वको समयमा हटाइएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा पनि पुनःस्थापना हुन सकेको छैन । बैङ्कले हाल शाखारहित बैङ्किङ्ग सेवाबाट सामान्य सेवा दिइरहेको भएपनि पर्याप्त नभएको स्थानीय सरोकारवालाहरुको गुनासो छ । त्यस क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय, पशु तथा कृषि सेवा केन्द्रमा समेत भरपर्दो टेलिफोन सेवा सुरु भएपछि सहज हुने र स्थानीय जनताले चाहेको बेलामा सेवा लिन पाउने आशा गरेको बताउँछन् । त्यसक्षेत्रमा मोबाइल सेवा समेत प्रभावकारी नहुँदा हैरान भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार