दलहरू उम्मेदवार छान्दै, माओवादीका अधिकांश ठाउँमा तय

काठमाडौँ, वैशाख १६ गते । नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि तीन महानगरबाहेक अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।
माओवादीले काठमाडाँैमा काठमाडौँ महानगरबाहेकका सबै स्थानमा उम्मेदवारी टुङ्गो लगाएको छ । ललितपुरमा महानगर र गोदावरी नगरपालिकाबाहेक सबैमा टुङ्गो लागेको छ । रामेछाप, चितवन, मकवानपुर, कपिलवस्तु, दोलखालगायत जिल्लामा उम्मेदवारको टुङ्गो लागेको छ । भक्तपुरमा शनिबार सबै क्षेत्रको उम्मेदवार घोषणा गरिने बताइएको छ । बाँकीमा जिल्लाका केही स्थानमा टुङ्गिएको छ भने बाँकी ठाउँमा केही दिनभित्रै टुङ्गिने बताइएको छ ।
‘प्रतिस्पर्धी पार्टीहरूको उम्मेदवार हेरेर पनि बाँकी रहेका ठाउँमा उम्मेदवार निर्धारण गर्नुपर्ने हुन्छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो । उम्मेदवारी दिने दिनसम्म सबैको टुङ्गो लाग्छ, उहाँले जानकारी दिनुभयो । भुसालका अनुसार ललितपुरमा ललितपुर महानगरबाहेक सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार टुङ्गो लागिसकेको छ । त्यस्तै काठमाडौँमा पनि महानगरपालिका बाहेकका अन्य नगरपालिकाहरूमा उम्मेदवारी टुङ्ग्याइएको छ ।
माओवादी केन्द्रले काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङलाई उम्मेदवार घोषणा गरेको छ । यस्तै, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुयाँल र उपमेयरमा रुकु रणपाल, गोकर्णेश्वरको मेयरमा टीआर नेपाल र उपमेयरमा रेणु कार्र्कीलाई उम्मेदवार घोषणा गरेको छ । बुढानीलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाललाई घोषणा गरिएको छ । काठमाडौंँको टोखा नगरपालिकाको मेयरमा कल्पना शर्मा र उपमेयरमा दीपक बानियाँ तथा तार्केश्वर नगरपालिकाको मेयरमा धनलाल महर्जन र उपमेयरमा विना रानालाई उम्मेदवार बनाएको छ । यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल तथा चन्द्रागिरि नगरपालिकाको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेयरमा उर्मिला रोकालाई बनाइएको छ भने दक्षिणकाली नगरपालिकाको मेयरमा सञ्जय लामालाई उम्मेदवार बनाइएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा शिवप्रसाद कट्टेल तथा उपमेयरमा लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाइएका छ । तीन वटा गाउँपालिकामध्ये बागमतीको प्रमुखमा राजु आलेमगर र उपप्रमुखमा आरती पुलामी मगर, महाङ्कालको प्रमुखमा बुद्धबहादुर नेगी र उपप्रमुखमा विमला आचार्य तथा कुञ्जोङमा गाउँपालिकामा गोपी स्याङ्तान र उपप्रमुखमा मिङ्मा लामा उम्मेदवार बन्नुहुने भएको छ ।
काठमाडौँ, ललितपुर, भरतपुर र पोखरागरी चार वटा महानगरमध्ये माओवादीले भरतपुरमा मेयरको टुङ्गो लगाएको छ । भरतपुरमा प्रधानमन्त्रीकी छोरी रेणु दाहाल मेयर र सुरेन्द्र गुरुङ उपमेयरको उम्मेदवार रहनुभएको छ ।
चितवन रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाईँ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतोको नाम टुङ्गो लागेको छ । त्यसैगरी कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्री सिलवाललाई उम्मेदवार बनाएको छ ।

१५ जिल्लामा काँग्रेसको टुङ्गो

काठमाडौँ । नेपाली काँग्रेस पहिलो चरणको स्थानीय तहको चुनावका लागि शुक्रबारसम्म १५ जिल्लाका उम्मेदारको टुङ्गो लागेको बताएको छ । शनिबारसम्म २८ भन्दा बढी जिल्लाका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा आइपुग्ने पार्टी कार्यालयका मुख्य सचिव कृृष्णप्रसाद पौडेलले बताउनुभयो तर उहाँले टुङ्गो लागेको १५ जिल्लाको नाम भने सार्वजनिक गर्न नमिल्ने बताउनभयो ।
पार्टी स्रोतका अनुसार महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन कठिन भएको छ । देशका चारवटै महानगर काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा लेखनाथमा पहिलो चरण अन्तर्गत वैशाख ३१ गते निर्वाचन हुँदैछ । काँग्रेसले काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नगर र गाउँपालिकाको अझैसम्म उम्मेदारीको अन्तिम टुङ्गो लगाउन सकेको छैन । काठमाडौँ महानगरपालिकाका केही वडाका उम्मेदवारको टुङ्गो लागे पनि नाम भने सार्वजनिक गरेको छैन ।
शनिबार क्षेत्रको बैठक बसेपछि आइतबार बेलुकासम्म काठमाडाँैंका लागि मेयरदेखि सबै वडाका अध्यक्षका उम्मेदवारको नाम टुङ्गो लगाइने काठमाडौं जिल्लाका सभापति सबुज बानियाँले बताउनुभयो ।
प्राप्त जानकारीअनुसार काठमाडौँमा वडादेखि मेयरसम्ममा पदमा आकाङ्क्षीको ओइरो लागेपछि सहमति हुनसकेको छैन । नेपाली काँग्रेसलाई काठमाडौँको मेयर र वडा प्रमुखमा बलियो उम्मेदवार अगाडि सार्न कार्यकर्ताको दबाब परेको सभापति बानियाँ बताउनुहुन्छ । काठमाडौँंको मेयरका लागि युवा नेता गगन थापा, भीमसेनदास प्रधान, तीर्थमान डङ्गोल, राजु जोशीदेखि केदारभक्त माथेमासम्मको नाम चर्चामा आए पनि ती नामको प्रस्तावबारे आधिकारिक रूपमा केही बताइएको छैन ।
ललितपुर महानगरपालिको मेयर र उपमेयरको टुङ्गो नलागे पनि दुई वटा वडा बाहेक अन्य वडाका अध्यक्षको उम्मेदवारी शुक्रबार टुङ्गिएको जिल्ला सभापति मदनबहादुर अमात्यले बताउनुभयो । शनिबार बस्ने जिल्ला समितिको बैठकले महानगरपालिकाको मेयर र उपमेयरको पनि टुङ्गो लगाउने उहाँको विश्वास छ । भक्तपुर जिल्लामा भने उम्मेदार छनोटको लागि जिल्ला समितिको बैठक बस्ने सकेको छैन । बैठक बस्नै नसकेको कारण वडादेखि नगरपालिकासम्मको कसैको पनि टुङ्गो नलागेको सासंद रामेश्वर ढुङ्गेलले बताउनुभयो ।
gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार