वैशाख १६ गते । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रूपमा समेत मानिन्छ ।
यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रूपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रूपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्बत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।
आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्बत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।
यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्यपुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्बत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यस पर्वको वैज्ञानिक महत्वसमेत छ ।