काठमाडौं, बैशाख १६ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहलाई सुदृढ गर्न नेपाली कांग्रेसले निर्वाचन जित्नैपर्ने भएकाले सोहीअनुसार प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तह निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरुले कांग्रेस कमजोर हुँदा २०६४ सालमा संविधान बन्न नसकेको र २०७० को निर्वाचनमा कांग्रेस बलियो हुँदा मुलुकले संविधान पाएको भन्दै स्थानीय तहलाई सम्मृद्ध बनाउन पनि कांग्रेसले निर्वाचन जित्नैपर्ने दाबी गरे ।
सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ गर्दै संविधानलाई सर्वस्वीकार्य बनाएर सम्मृद्ध राष्ट्र बनाउने अभियानमा कांग्रेस रहेको बताए ।
उनले संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रहसमेत गरे । एमाले बिना पनि दुई तिहाई मत पु¥याएर संविधान संशोधन गरिने भन्दै उनले स्थानीय निर्वाचनमा सबैलाई सहभागि गराईने प्रतिबद्धता व्यक्त गरे ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै कांग्रेसलाई मत दिएर नेपालको सम्मृद्धीको बाटो खोल्न अपील गरे ।
उनले कृषि, पर्यटन र उर्जाको विकासबाट मुलुकलाई सम्बद्ध बनाउन सकिने बताए ।
कांग्रेस प्रचार प्रसार समितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले कांग्रेसले ल्याएको घोषणापत्र घोषणा मात्र नभएर प्रतिबद्धतापत्र भएको बताए । उनीहरुले कांग्रेसले स्थानीय तहमा जिते त्यो हुबुह कार्यान्वयनमा लाने बताए ।