सन्तोष राउत
सल्यान (सोलुखुम्बु) । वैशाख ६ गते अचानक आएको ठूलो हावाहुरीले भवनमा क्षति गरेपछि भवन मर्मतका लागि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका चिकित्सक सदरमुकाम धाउदैँ हुनुहुन्छ । भवनको छानो उडाए क्षतविक्षत बनाएपछि उपचारमा समस्या भएकाले भवन मर्मतका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला समन्वय समितिको कार्यालयमा आएको केन्द्रका डाक्टर तथा कार्यालय विमलेश साहले बताउनुभयो ।
‘वर्षासँगै आएको हावाहुरीले छानो र छानोमा रहेको सोलार सेट समेत उडाएर काम नलाग्ने बनाएकको छ भने भवन समेत चर्किएको छ, अहिले आपतकालीन रुपमा एउटा कोठामा त्रिपाल ओढाएर उपचार सबै किसिमका बिरामीको उपचार गरिरहेका छौँ’ प्रमुख साहले भन्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देस बाहिर रहेको लामो समय भएकाले बिरामीलाई उपचार गर्न छोडेर आफैँ जिल्ला धाउनुपरेको उहाँको गुनासो छ । कोठा अभावमा बेड भर्ना गुर्नपर्ने बिरामी तथा प्रसुती गराउन बढी समस्या भएको उहाँले बताउनुभयो ।
अहिले सहयोगका लागि जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य विभाग तथा मन्त्रालयलगायत सरोकारवाला निकायमा अनुरोध सहति माग गरिरहेको स्थानीय अगुवा भेषप्रसाद बाँस्तोलाले बताउनुभयो । हाललाई जस्तापाता र काठ उपलब्ध भएमा सामान्य मर्मतपछि सेवा दिन सहज हुने उहाँको भनाइ छ ।
केन्द्रको एक तले सात कोठा रहेको पक्की भवनको छानो उडाउँदा भवन नै चर्किएर जिर्ण बनेको छ भने सोलार सहित स्वास्थ्य उपचारमा प्रयोग गरीने सामाग्रीको क्षति हुदाँ करिब ११ लाख बराबरको क्षति भएको छ । पूरै छानो उडाएपछि औषधीको स्टोरमा समेत क्षति पुगेको छ । उपचार कक्ष पनि क्षतिग्रस्त भएपछि उपचारमा प्रयोग हुने धेरै सामग्री प्रयोग गर्न नमिल्ने भएका छन् ।