सोलुखुम्बुमा को को छन् स्थानीय तहमा प्रमुखमा दाबी गर्ने महिला ?

सोलुखुम्बुमा तीन जना महिलाले प्रमुख पदको उम्मेदवारमा दाबी गरेका छन् । नेपाली काँग्रेसमा क्रियाशिल महिला नेतृहरु दुई जना र नेकपा एमालेबाट एक जना महिलाले सोलुखुम्बुमा नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा दाबी गर्दै आएका छन् ।

सन्तोष राउत

सोलुखुम्बु । स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला सोलुखुम्बुमा तीन जना महिलाले प्रमुख पदको उम्मेदवारमा दाबी गरेका छन् । नेपाली काँग्रेसमा क्रियाशिल महिला नेतृहरु दुई जना र नेकपा एमालेबाट एक जना महिलाले सोलुखुम्बुमा नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा दाबी गर्दै आएका छन् ।

२०३६ सालदेखि नेपाली काँग्रेको राजनीतिमा सक्रिय रहेको दाबी गर्ने वर्तमान महाधिवेसन प्रतिनिधि तथा महिला संघ सोलुखुम्बुकी अध्यक्ष छिण्डील्हमू शेर्पाले जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख पदमा दाबी गर्नुभएको छ । पाटीमा लामो समयदेखि सम्पूर्ण लगानी गरेको र हरेक निर्वाचनमा पाटीले टिकट दिएको उम्मेदवारलाई विजय गराउन लगिपरेकाले आफूले पाउनुपर्ने उहाँको भनाइ छ । अहिलेसम्म पाटीको हितमा लगातार काम गरेकाले महिलाको समेत नेतृत्व आवश्यक भएकाले अहिले प्रमुख पदमा सिफारिस गर्न पाटीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, काँग्रेसकै अर्की कोशीपारीकी नेतृ सरला नाछिरिङले पनि सोताङ गाउँपालिकाको प्रमुखमा दाबी गर्नुभएको छ । विगत लामो समयदेखि नेविसंघ हुदैँ पाटीका विभिन्न भातृ संगठनमा रहेर काम गरेको र लगातार दुई कार्यकाल महाधिवेसन प्रतिनिधि जितीसकेकाले आफूले यस पटक प्रमुखको दाबी गरेको उहाँले बताउनुभयो । आफूले विगतमा गाउँमा बसेर जनताको सेवा गरेकाले आफूले टिकट पाएमा पुरुष नेता सरह भोट ल्याएर जितेर देखाउने उहाँको भनाइ छ । सोलु काँग्रेसमा विवाद भएकाले भागबण्डामा उम्मेदार तय हुन सक्ने अवस्थामा आफूले प्रमुखको टिकट नपाउने सम्भावना पनि रहेको नाछिरिङले बताउनुभयो । सहिद परिवारकी सदस्य रहेकी उहाँ स्नातक तहको अध्ययन गर्नुभएको छ ।

त्यस्तै, मुलुककै दोस्रो ठूलो दल नेकपा एमालेमा एक जना महिलाले प्रमुखमा दाबी गर्नुभएको छ भने अन्य पालिकामा उपप्रमुखका रुपमा मात्र महिलाहरु सिफारिस भइसकेको छन् । सिफारिस गर्न बाँकी रहेको महाकुलुङ गाउँपालिकामा अखिल नेपाल महिला सङ्घ सोलुखुम्बुकी अध्यक्ष सरस्वती कुलुङले प्रमुखमा दाबी गरेको बताउनुभयो । आफूमा पाटीले विश्वास गरेर टिकट दिए गाउँपालिका हाँक्न सक्ने क्षमता भएको उहाँको दाबी छ । सबै पालिकामा प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयन गरिसकेको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले भने महिलालाई उपप्रमुखमा मात्र सीमित गरेको छ । अन्य साना दलमा भने उम्मेदवारको चयन गर्ने सुरसार देखिएको छैन ।

यता नेपाली काँग्रेसले पछिल्लो समय महिला पनि पुरुष सरह भएकाले महिलालाई पनि प्रमुख पदमा चुनावी मैदानमा ल्याउने सम्भावना रहेको जनाएको छ । ‘काँग्रेसले टिकट वितरण गर्दा महिलालाई पनि प्राथमिकतामा राखेर उनीहरुको कार्य क्षमता, दक्षता, योगदान, सिनियरीटी तथा स्थानीय जनाधारलगायतका आधारमा काँग्रेसले जो सुकैलाई टिकट दिनेछ’ नेपाली काँग्रेस सोलुखुम्बुका निवर्तमान सभापति आङगेलु शेर्पाले भन्नुभयो । अन्य दलका महिला कसैले प्रमुखको दाबी समेत नगरेको अवस्थामा काँग्रेसमा दुई जना दाबेदार देखिनु सकरात्मक कुरा भएको शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार