हिमशिखर समाचारदाता
सोलुखुम्बु, वैशाख १८ गते । मुटु एवं मेरुदण्ड भाँचिएर मृत्यू भएका नेचासल्यान गाउँपालिका–४, पोखरेका स्वर्गीय निधिरत्न कटेलका परिवारलाई नेचाली एकता समाज मलेसियाले किरिया खर्च सहयोग गरेको छ ।
समाजका नेपाल प्रतिनिधि तथा अभियानकर्ता स्थानीय समाजसेवी लोकेन्द्रबहादुर राउतले ११ औं दिनको पुन्यतिथिको अवसरमा स्वर्गीय कटेलका परिवारलाई किरिया खर्च स्वरुप २३ हजार ५७० रुपियाँ छिमेकीको उपस्थितिमा स्वर्गीय कटेलकी कान्छी छोरी चुना कटेललाई हस्तान्तरण गर्नुएको हो ।
विगत सात बर्षदेखि मुटुको भल्भ खुम्चिएर नियमित उपचार गराइरहेका कटेलको २०७३ साल माघ १३ गते रुखबाट लडेर मेरुदण्ड भाँचिएपछि खर्च अभावको कारण उपचार गर्न नसकेका निधिरत्न कटेलको उपचारका लागि नेचाबाट मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा गएका नेचाबासीहरुको संस्था नेचाली एकता समाज मलेसियाले उपचारका लागि सहयोग अभियान सञ्चालन शुरु गरेको थियो ।
अभियानका क्रममा उठेको उक्त रकमले स्वर्गीय निधिरत्न कटेलका परिवारलाई किरिया गर्न सहयोग पुगोस् भन्ने हेतुले रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष कुसाङ राईले जानकारी दिनु भयो । न्यून आर्थिक अवस्था भएका स्वर्गीय कटेलको उपचार अभियानलाई अब आर्थिक सहायता अभियानका रुपमा २०७४ असार १६ गतेसम्म सञ्चालन गरिने समाजका अध्यक्ष सोबित राईले मलेसियाबाट बताउनुभयो । न्यून आर्थिक अवस्था भएका स्वर्गीय कटेलका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।