सर्वाधिक राशीको नाम्चे भलिबलको तयारी तिव्र

 

हिमशिखर समाचारदाता
सोलुखुम्बु, चैत २१ गते । खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऔँ ।’ भन्ने नाराका साथ सोलुखुम्बुको नाम्चेमा सर्वाधिक राशीको खुला भलिबल प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ । प्रायः विदेशी पर्यटक मात्रै पुग्ने खुम्बुमा नेपाली पर्यटक पनि भित्र्याउनका लागि नेपालकै सर्बाधिक राशीको भलिबल प्रतियोगिता गर्न लागिएको हो ।
सगरमाथा दिवस अर्थात मे २९ को अवसर पारेर नाम्चेबजारमा आयोजना गर्न लागेको भलिबल खेलको तयारी तिव्र रुपमा गरिरहेको नाम्चे युवा समुहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार टिम दर्ता तथा अन्य तयारी भइरहेको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख ५१ हजार १५० रुपियाँ, दोस्रो हुनेलाई दुई लाख ८१ हजार १५० रुपियाँ, तेस्रो हुनेलाई, दुई लाख ११ हजार १५० रुपियाँ, सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । यो पुरस्कार राशी अहिलेसम्मकै सबै भन्दा ठुलो राशी भएको आयोजकको दाबी छ ।
आगामी जेष्ठ ७ गते शुरु हुने प्रतियोगितामा सहभागिताका लागि जेष्ठ ४ गते साँझसम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता शुल्क तीन हजार रुपियाँ लाग्ने शेर्पाले बताउनुभयो । खुला प्रतियोगिता भएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय क्लबहरु पनि सामेल हुने भएकाले एउटा समुहमा दुई भन्दा बढी राष्ट्रिय खेलाडी समाबेश गर्न नपाइने नियम बनाइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार