प्रमुख दलको बैठकमा प्रचण्ड र ओलीवीच फेरि चर्काचर्की

काठमाडौं, २२ बैशाख । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको बैठकमा शीर्ष नेताहरुवीच चर्काचर्की परेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध कांग्रेस र माओवादीले ल्याएको महाभियोग र स्थानीय तहको दोस्रो चरणका लागि घोषित निर्वाचनका विषयमा छलफल गर्न बसेको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भनाभन भएको छ ।

एमालेले प्रधानन्यायाधीश विरुद्ध ल्याइएको महाभियोगलाई मुलुकमा अस्थिरता निम्त्याउने योजनाका रुपमा चित्रण गर्दै त्यसलाई अबिलम्ब फिर्ता लिन माग गरेको छ भने कांग्रेस र माओवादीले महाभियोग फिर्ता नलिने वताउँदै आएका छन् ।

बैठकमा ओलीले संवैधानिक तथा राजनीतिक वातावरणलाई तरंगित गर्न र अस्थिरता फैलाउन सत्तापक्ष उद्यत रहेको भन्दै महाभियोग फिर्ता लिन आग्रह गरेका छन् । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुन बेला के गर्नु पर्छ भन्ने तपाईंहरुले नबुझ्नु भएको हो कि तपाईंहरुको नियत नै मुलुकलाई अस्थिरतामा लैजानेका उद्धेश्य पूरा गर्ने हो ?’ ‘जे जे गर्दा अस्थिरता ल्याउन सकिन्छ सत्तामा बसेर त्यही त्यही गर्ने हो ?’

बैठकमा कांग्रेस र माओवादीले भने महाभियोगको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए । यस्तै स्थानीय तहको दोस्रो चरणका लागि तोकिएको निर्वाचन जेठ १५ गते अगावै गर्नु पर्ने र दोस्रो चरणको मतदानअघि पहिलो चरणको मतगणना गर्न नहुने एमालेले वताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार