भुकम्प पीडितसँग अनुदान सम्झौता सुरु

सन्तोष राउत

सोलुखुम्बु । भूकम्प गएको दुई वर्षपछि सोलुखुम्बुका एक नगरपालिका र २७ गाविसका भुकम्प पीडितहरुको लाभग्राहीको सूची आएपछि भूकम्प पीडितहरुको आवास निर्माणका लागि अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ ।
सरकारले दिने भनेको पहिलो चरणको अनुदानका लागि लाभग्राहीको सूची सम्झौता पत्र लिएर गाविस सचिवहरु गाउँ प्रवेश गरेको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्यूटर अधिकृत भोजनारायण श्रेष्ठले जानकारी दिनुभयो । माघ र फागुनमा केन्द्रिय तथ्याङ्क विभागमाफर्त खटिएका प्राविधिकहरुले १७ हजार २७८ घरधुरीको लगत सङ्कलन गरेकोमा १० हजार ७९४ घरधुरी लाभग्रहीको सूचीमा परेका छन् । छ हजार ४८४ घर पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न आवश्यक नरहेको प्राविधिकहरुको सर्वेक्षणले देखाएको छ ।
साबिकको गाविसकै संरचनामा भूकम्प पीडितहरुको नामावली सार्वजनिक भएकाले सूचीका आधारमा अनुदान सम्झौता वैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिइएको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । अहिले प्राप्त सूचीमा खुम्बुका तीन गाविस बाहेक अरु सबै गाविसका पीडितहरुको नामवली प्राधिकरणले जिल्लामा पठाएको हो ।
भुकम्प पीडितले तीन थान सम्झौता पत्र भर्नुपर्ने छ । त्यस मध्ये एक थान पीडितसँगै रहने छ भने एक थान भुकम्प पुनःनिर्माण प्राधिकरण र एक थान जिल्ला समन्वय समितिमा रहने बताइएको छ । सुरुमा १४ गाविसको सूची आएपछि वैशाखको पहिलो हप्तामा केरुङमा नमुना सम्झौता गरिए पनि निर्वाचनको चटारोले नभ्याएको भन्दै सचिव सहित जिल्लाका सरोकारवालाहरु निस्क्रिय भएकोमा यस क्षेत्रको स्थानीय तहको निर्वाचन सरेपछि अनुदान सम्झौताका लागि पुन सक्रिय भएका हुन् ।
यस सम्झौताबाट आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपियाँ भुकम्प पीडितले प्राप्त गर्दछन् भने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ताको रकम उपलब्ध हुने छ । जिल्लाका सबै भूकम्प पीडितहरुको सम्झौता गरिसकेपछि मात्रै अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपियाँ बैङ्कमार्फत पीडितको हातमा पुग्ने जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ ।
अहिलेसोलुदुधकुण्ड नगरपालिका सहित साबिकका गाविसहरु गोराखखानी, केरुङ, टाप्टिङ, बुङ, पञ्चन, जुबु, नेले, देउसा, गोली, भकाञ्जे, जुभिङ, टाक्सिन्दु, वाकु, नेचाबतासे, नेचावेतघारी, तिङला, सल्यान, गोराखानी, चौलाखर्क, गुदेल, लोखिम, पावै, सोताङ, काँगेल, काँकु, मुक्ली, छेस्काममा सम्झौता सुरु भएको छ ।
अनुदान सम्झौता सुरु भएपछि ती गाविसका पीडितमा आशा पलाएको छ । सल्यानका भूकम्प पीडित डिल्लीबहादुर बस्नेतले भन्नुभयो, ‘लाभग्राही परेर अनुदान पाइएला भन्दै कुर्दाकुर्दा हैरान भएका थियौँ, ढिलै भएपनि अनुदान सम्झौता सुरु भएको छ, अब भने घर बनाउन पाइन्छ भन्ने आशा पलाएको छ ।’ सोलुखुम्बु जस्तो हिमाली जिल्लामा वर्षे झरी र चिसो टहरोमा बिताउँदा धेरै कष्ट भएको सुनाउँदै उहाँले अबको बर्षे झरी भन्दा अघिनै घर बनाउने गरी अनुदान पाउनुपर्ने उहाँको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार