सहकारीको घुम्ति शिविर सोलुमा


सन्तोष राउत
सोलुखुम्बु, जेठ १ गते । डिभिजन सहकारी कार्यालय उदयपुरले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सहकारी शिविर तथा घुम्ति सेवा कार्यक्रम सुरु गरेको छ । उदयपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुङ गरी चार जिल्ला हेर्ने कार्यालयले प्रत्येक जिल्लामा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
एक सातासम्म चल्ने उक्त कार्यक्रममा सहकारी दर्ता, सहकारी विनियम संसोधन, लेखा परीक्षक नियुक्ति समर्थन, नमुना दस्तखत प्रमाणितलगायत अन्य विभिन्न सेवा उपलब्ध गराउने डिभिजन सहकारी कार्यालय उदयपुरका सहकारी अधिकृत जीतमान जिमीले जानकारी दिनुभयो । भौगोलिक विकटता भएको सोलुखुम्बुमा सहकारीको काम घरदैलोमा सहज तरिकाले पु¥याउनका लागि शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो । सहकारीलाई जनताको सहज पहुँचसम्म लाने सरकारको समेत नीति भएकाले उदयपुरबाट दिने सबै सेवा दिन लागेको उहाँको भनाइ छ ।
आफ्नै जिल्लामा सहकारीका सबै काम गर्न पाएपछि सहकारीसँगका सरोकारवालाहरु खुशी भएका छन् । सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाको काँगेलका कान्तिराज थुलुङ सहकारी दर्ता गर्न उदयपुरको कार्यालयमा दुई पटक पुग्दा समेत प्रक्रिया नपुगेर फर्किएको सम्झदैँ अहिले जिल्लामानै दर्ता गर्न पाएकोमा खुशी भएको बताउनुहुन्छ ।
शिविर आएर धेरै सहज भएको छ र अन्य नयाँ प्रक्रियामा आउन चाहेकाहरुलाई समेत सजिलो भएको उहाँको भनाइ छ । सोलुखुम्बुमा हालसम्म ८९ वटा विभिन्न किसिमका सहकारी संस्था दर्ता भएका छन् । जिल्लामा शिविर आएपछि उदयपुरको कार्यालय पुगेर दर्ता गर्न नसकेकाहरुले सहकारी दर्तामा उत्साह देखाएका छन् ।
सोही अवसरमा सहकारी व्यवस्थापन तालिम र लेखा सम्बन्धी छ÷छ दिने तालिम समेत सञ्चालन भइरहेको अधिकृत राईले बताउनुभयो । तालिममा सहभागी सिर्जनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी शारदा तामाङले सहकारी व्यवस्थापन तालिम धेरै प्रभावकारी भएको बताउनुभयो । तालिमले नयाँ उत्साह थपेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार