स्वास्थ्य केन्द्रमा सुरु भयो एक्स रे सेवा


सन्तोष राउत
सल्यान (सोलुखुम्बु), जेठ २ गते । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा एक्स रे सेवा सुरु भएको छ । पछिल्लो समय प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले थप नयाँ सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको छ ।
सांसद विकास कोषको रकमबाट प्राप्त करिब साँढे १० लाख रुपियाँको लागतमा एक्स रे मेशिन खरिद गरी सञ्चालनमा ल्याएको केन्द्रका डाक्टर विमलेस शाहले जानकारी दिनुभयो । केन्द्रमा एक्स रे गर्ने कर्मचारीको दरबन्दी नहुने भएपनि भएका अन्य जनशक्तिबाट सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । ‘अब हड्डीको शल्यक्रिया बाहेक सबै किसिमका उपचार गर्न सकिन्छ, अब सामान्य समस्याको उपचारका लागि अन्यत्र जानु पर्दैन’ उहाँले भन्नुभयो । अहिले हड्डी सम्बन्धी सबै किसिमका र छातीको एक्स रे गरिन्छ ।
विगत लामो समयदेखि पहल गरिरहेको भएपनि बल्ल सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ । स्थास्थ्य केन्द्रमा एक्स गर्ने रेडियो ग्राफरको दरबन्दी नहुने भएकाले भएका जनशक्तिबाट नै काम चलाइरहेको छ । पछि स्थानीय बजेटबाट व्यवस्था गरी कर्मचारी राख्न सकिने डा.शाहले बताउनुभयो ।
नेचा सल्यान गाउँपालिका १ रुड्ढाका कुमार बस्नेतले सेवा सुरु भएपछि धेरै सजिलो भएको बताउनुभयो । ‘श्रीमतिको खुट्टा भाँचिएर राजधानीको अस्पतालमा उपचार गरेको र समय समयमा एक्स रे गरेर हेर्नुपर्ने भएकाले जिल्ला अस्पताल फाप्लु तथा अन्य अस्पतालमा जानु पर्दा ऋण कढेर धेरै खर्च गर्नुपर्दा हैरान भएको थिएँ, अहिले गाउँमै सेवा पाएपछि सजिलो भएको छ’ उहाँले भन्नुभयो । उहाँजस्ता धेरै स्थानीयलाई यस सेवाले समय र खर्च काम हुनका साथै गाउँमै उपचार पाउने अवसर मिलेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार