हिमशिखर समाचारदाता
सोलुखुम्बु । एक नगरपालिका र सात गाउँपालिका सहति आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना पुराना कार्यकतालाई घर फर्काउने अभियान सुरु गरेको छ । राप्रपा नेपाल र राप्रपा एकीकरणपछि भएको पार्टी सुढृढिकरणका लागि गाउँ गाउँमा अभियान सञ्चालन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुका अध्यक्ष दोर्जीशुसिल शेर्पाले जानकारी दिनुभयो ।
‘विगत लामो समयदेखि पार्टी विभाजन तथा केन्द्रिय समितिको कमजोर व्यवस्थापनका कारण पुराना कार्यकर्ता तितरवितर भएको अवस्थामा पहिला उनीहरुलाई घर फर्काउने अभियानमा लागेका छौँ, अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँका अनुसार २०७० सालको निर्वाचनपछि वैकल्पिक शक्तिका रुपमा देखिएपछि पुराना कार्यकर्तामा उत्साह बढेको र अन्यत्र गएका कार्यकर्ता फर्कन थालेका छन् ।
अहिले दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई समेत केन्द्रित गरेर कार्यक्रम भइरहेको शेर्पाले बताउनुभयो । प्रत्येक गाउँपालिकाका वडा तथा टोलसम्म गएर निर्वाचनका गतिविधि गरिरहेको र मापदण्ड बनाएर समाजमा राम्रो छवि भएका योग्य व्यक्तिलाई निर्वाचनमा टिकट दिने उहाँको भनाइ छ ।
अब राप्रपाको पनि भाविष्य राम्रो भएकाले आशा जागेको सोलुदुधकुण्ड नगरपालिका ५ का गेलु शेर्पाले बताउनुभयो । आफू विगत लामो समयदेखि पार्टीमै बसेको र अब क्रियाशिल भएर लाग्ने उहाँको भनाइ छ । पार्टीले सही गति लिन नसक्दा निराश भएको भन्दै अहिले गाउँ गाउँमा कार्यकर्तामा उत्साह पलाएको उहाँले बताउनुभयो ।