हिमशिखर समाचारदाता
सोलुखुम्बु । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुको एक मात्र नगरपालिकामा जिल्लाका मुख्य तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बिच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।
माओवादी केन्द्रले करिब एक महिनाअघि उम्मेदवार पक्का गरेर चुनावी अभियानलाई तिव्रता दिएको छ । केन्द्रबाट पढेलेखेका बौद्धिक मानिएका सल्लेरीका युवा ङिमातेन्डुप शेर्पालाई उम्मेदवार दिएपछि बलियो उम्मेदवारका रुपमा हेरिएको छ । अन्य दलले उम्मेदवार चयन गर्न नसकेका बेला उहाँले वडा भेला, टोल भेला तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएर चुनौति दिइरहनुभएको छ ।
नेपाली काँग्रेस र एमालेमा धेरै आकांक्षी देखिएपछि उम्मेदवार चयनमा ढिलाई भएपनि नगरपालिकामा गतिलो टक्कर हुने स्थानीय मतदाता बताउँछन् । दलहरु अहिले निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो पक्षमा वातावरण बनाउन मात्र केन्द्रित नभई एक अर्का पार्टीका मतदाता आफ्नो पार्टीमा ल्याउन लागरिहेका छन् ।
काँग्रेसमा मेयरका लागि आधा दर्जन जति आकांक्षी देखिएका छन् भने सबै बलिया उम्मेदवारका रुपमा चिनिन्छन् । काँग्रेसले पनि उम्मेदवारको चयन नगरेपनि आन्तरिक रुपमा भेला, भोटघाट गर्दै मतदातादलाई आफ्नो पक्षमा ल्याउने काम गरिरहेको मेयरका एकजना आकांक्षी नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । टिकट जसले पाएपनि काँग्रेसलाई जिताउने अभियानमा आफ्नै तरिकाले आन्तरिक तयारी भइरहेको भन्दै व्यक्ति भन्दा पार्टी मुख्य भएको उहाँको भनाइ छ ।
नेकपा एमालेले पनि आन्तरिक तयारी गरिरहेका बताएको छ । सात जना आकांक्षीको सूचि प्रदेस कमिटीमा सिफारिस गरेको एमालेको पनि बलियो उपस्थिती रहेको छ । एमालेबाट नगपालिकाको मेयरको उम्मेदवारका लागि आङदामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, दोर्जीजाङबु शेर्पा, रामकाजी श्रेष्ठ, विरुदास श्रेष्ठ, सन्तोष थापा मगर र डि.बी. राणापाल सिरफारिसमा परेका छन् । हालसम्मका आम निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार रहेका उक्त नगरपालिकामा राम्रो मत पाइरहेकोले पनि एमालेले यस निर्वाचनमा विजयी गर्ने मेयरका आकांक्षी आङदामी शेर्पाको दाबी छ ।