हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १० गते । नेपाली काँग्रेस सोलुखुम्बुले चुनावी अभियान नेपाल तरुण दलले सुरु गरेको छ । दुधकौशिका गाउँपालिकाको नेलेबजारबाट नेपाल तरुण दलको आयोजनामा ¥याली तथा आमसभा गरेर अभियान सुरु गरेको हो । दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तिव्रता दिन लागेको तरुण दल सोलुुखुम्बुका अध्यक्ष आशोककुमार झाले जानकारी दिनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उहाँले बताउनुभयो । उहाँकाअनुसार जेठ ३१ का लागि प्रत्येक बुथमा १५ जना भन्दा बढी तरुण दलका स्वयम्सेवक खटाउने योजना रहेको छ । कार्यक्रममा काँग्रेसका जिल्ला तथा गाउँस्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यता नेपाली काँग्रेस सोलुखुम्बुले कुनै तहमा पनि उम्मेदवार चयन गर्न सकेको छैन । जिल्लामा दुई गुटमा प्रष्ट विभाजित काँग्रेसमा गुटगत रुपमा आकांक्षी धेरै भएपछि छलफल भइरहेको काँग्रेसका एक नेताले जानकारी दिनुभयो । अहिले सहमतिमा टिकट वितरण गरेर सबै तहमा चुनाव जित्ने रणनीतिका साथ योग्य तथा सक्षम उम्मेदवार चयनको प्रयास भइरहेको छ, उहाँले भन्नुभयो ।
अन्य दलले निर्वाचनको प्रचारप्रसारलाई व्यापक बनाइरहँदा काँग्रेस गुटको समस्यामा अल्झिरहेको ग्रामिण कार्याकर्ताको गुनासो छ । अरुले घरदैलो कार्यक्रम गरिसके, काँग्रेसको उम्मेदवारको समेत निश्चित छैन, सल्यानका तेजबहादुर बस्नेतले गुनासो गर्नुभयो । जिल्लामा सबै भन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ ।