नेचामा एडिएसएल इन्टरनेट


हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुुखुम्बुको दक्षिणी भेगमा पर्ने नेचा सल्यान गाउँपालिकाको केन्द्र रहेको नेचामा एडिएसएल इन्टरनेट सेवा सञ्चालन भएपछि स्थानीयमा खुशीयाली छाएको छ । साविकका दुई वटा गाविस रहेको नेचामा विगत लामो समयदेखि गरिएको प्रयास सफल भएपछि सेवा सुरु भएको भन्दै नेचाका स्थानीय अगुवा लोकेन्द्र राउतले खुशी व्यक्त गर्नुभयोे ।
‘सूचना र प्रविधिको युगमा धेरै काम घरमै बसेर गर्ने क्रम बढेका बेला इन्टरनेट सेवा सञ्चालनमा आएपछि हरेक क्षेत्रमा काम गर्न सजिलो हुने भएको छ’ राउतले भन्नुभयो । अब इन्टरनेट चलेपछि धेरै काम गर्न सहज हुने र गाउँको विकास हुने उहाँले बताउनुभयो ।
करिब एक महिनाअघि मात्र पाँच सय लाइन क्षमताको ल्याण्डलाइन टेलिफोन सञ्चालनमा आएको थियो । सेवा सुरु भएपछि विद्यालय, स्थानीय व्यापारी, विद्यालयलगायत सबैलले खुशी व्यक्त गर्नुभयो । स्थानीय हिमालदर्शन माध्यामिक विद्यालयका प्रधानाध्यापकले इन्टरनेट सेवा चलेपछि शिक्षणमा समेत नयाँ नयाँ कुराको अध्यावधिक गरी पठनपाठनमा सहज हुने बताउनुभयो । पछिल्लो समय धेरै कुरा छिटो परिवर्तन भएको थाहा पाउन तथा सिकाईका समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।
सरकारी कार्यालय तथा निजी गरी सुरुमा ३२ लाइन वितरण गरेको नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो । मागका आधारमा थप लाइन वितराण गर्ने उहाँले बताउनुभयो । विगत लामो समयदेखि नेचाबासीले माग गर्र्दै आएको इन्टरनेट सञ्चालनमा आपछि खुशी लागेको नेचाका सन्तोष राई बताउनुभयो ।
बाक्लो बस्ती तथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब एक दर्जन गाविसको बजार रहेको त्यस क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सञ्चालन भएपछि थप सहज हुने स्थानीय व्यापारी राईको भनाइ छ । यसअघि मोबाइल सेवा प्रभावकारी नहुँदा हैरान भएको थियो ।
इन्टरनेट अभावकै कारण द्वन्द्वको समयमा हटाइएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा पनि पुनःस्थापना हुन सकेको छैन । बैङ्कले हाल शाखारहित बैङ्किङ्ग सेवाबाट सामान्य सेवा दिइरहेको भएपनि पर्याप्त नभएको स्थानीय सरोकारवालाहरुको गुनासो छ । त्यस क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय, पशु तथा कृषि सेवा केन्द्रमा समेत भरपर्दो इन्टरनेट सेवा भएपछि सहज हुने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार