यमुनाको ‘लेकमा चौरी गाई’ चर्चामा

हिमशिखर समाचारदाता
सोलुखुम्बु । लोक सञ्चारकर्मी एवं गायिका यमुना मगरको सार्वजनिक गरिएको नयाँ गीतको म्यूजिक भिडियो चर्चा आएको छ । मगरको तेस्रो कोशेलीका रुपमा ‘लेकमा चौरी गाई ….’ बोलको गीतको भिडियो सल्लेरीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियोे । यूट्युबमा रहेको उक्त भिडियो करिब १० हजारले हेरिसकेका छन् ।
गायिका मगरको जन्मदिनको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिएको भिडियोमा ‘लेकमा चौरी गाई….’ गीतमा शब्द तथा लय सागर बिरहीको रहेको छ । गीतमा यमुना तथा चर्चित गायक रामजी खाँणको स्वर रहेको छ भने भिडियोमा गायक खाँण र सोलुखुम्बुकै कलाकार माया शेर्पाको अभिनय रहेको छ ।


यसअघि चलचित्रमा समेत अभिनय गरिसकेकी मायाको अभिनय म्यूजिक भिडियोमा उत्कृष्ट रहेको बताइन्छ । यस अघि तीज सम्बन्धी गीत रेकर्ड गरेर सार्वजनिक गरेकी यमुनाको पहिलो गीत भने ‘पागल भन्छन् एक्लै म रुँदा….’ बोलको रहेको छ ।
गीतको म्यूजिक भिडियोको सार्वजनिकका क्रममा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कलाकार देशको गहना भएकाले कलाकारको सिर्जना कहिल्यै नमर्ने बताउनुभयो । गायिका मगरले गीत सङ्गीतमा लाग्दा आफूलाई घरपरिवारदेखि साथीहरु सबैको सहयोग प्राप्त भएको बताउनुभयो । उहाँ ओखलढुङ्गाको विकट गाउँ जन्तरखानीमा जन्मिएर विगत पाँच बर्षदेखि सोलुखुम्बुलाई कर्म थलो बनाइरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार