सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको एकीकृत सहरी विकास गुरुयोजना तयार तयार गरिने भएको छ । नगरपालिका घोषणा भएको करिब दुई वर्ष हुँदासम्म गाविसकैस्तरमा रहेको सोलुदुधकुण्ड नगरपालिकाको दिगो विकासका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना तयार गर्न लागेको नगर विकास समिति अध्यक्ष नाम्गेलजङ्बु शेर्पाले जानकारी दिनुभयो ।
कम्तिमा दुईदेखि तीन वटा ठूला सहरी पुर्वाधारहरु तत्कालै निर्माण गर्न बिस्तृत परियोजना प्रतिबेदन तयार गरी सल्लेरी दुधकुण्ड नगर विकास समितिले सहरी विकास मन्त्रालयको समन्वयमा अर्थमन्त्रालयबाट ५० लाख स्वीकृत गरेको शेर्पाले बताउनुभयो । यसका लागि सोलुदुधकुण्ड नगरपालिकाले पनि रकम उपलब्ध गराएको शेर्पाले जानकारी दिनुभयो । ‘अब प्रत्येक टोल टोलमा गएर सुझाव लिएर प्राथमिकताक आधारमा योजना छनोट गर्ने कायक्रम रहेको छ, खानेपानी, पर्यटन पूर्वाधार जस्ता योजनामा छलफल हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँकाअनुसार नगरबासी तथा सरोकारवाला निकायहरुसँग पारदर्शी, प्रत्यक्ष अन्तरक्रिया र साक्षत्कार गर्न नगर विकास समितिका पदाधिकारी र बिशेषज्ञहरुको टोलीले नगरपालिकाको प्रत्येक वडामा गएर योजना तयार गरिने छ । सम्पूर्ण नगरबासीहरुले आफ्नो वडा वडामा र टोल टोलमा नगरपालिकाको सहरी विकास योजनाको बारेमा बहस गरी धारणा तयार गर्न उहाँले सरोकारवालासँग आग्रह गर्नुभएको छ ।