सोलुमा निर्वाचन केन्द्रित अन्तरक्रिया

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १३ गते । सोलुखुम्बुमा आसन्न स्थानीय तहको निर्वाचन सफलपार्न निर्वाचन केन्द्रित छलफल तथा अन्तरक्रिया गरिएको छ । निर्वाचन प्रणालीको सामान्य जानकारी, स्थानीय तह, स्थानीय तहको संरचना, गाउँसभाको गठन, गाउँ कार्यपालिकाको गठन नगरसभा र जिल्ला समन्वय समितिको विषयमा अन्तरक्रिया भएको हो ।
कुल मतदाता ६१ हजार ७४६ रहेको सोलुमा १२० वटा मतदान केन्द्र रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङवाले मतदाता शिक्षाका लागि निर्वाचन शिक्षा कार्यकर्ता वा मतदाता स्वयम्सेवक प्रत्येक मतदान केन्द्रमा एक एक जनाका दरले जम्मा १२० जना खटिएको साथै क्याम्पस तथा माध्यामिक विद्यालयमा मतदाता शिक्षा सम्वन्धी अन्तक्रिया गर्न दुई जना स्रोतव्यक्ति सक्रिय रहेको बताउनुभयो ।
गाउँपालिका तथा नगरपालिकाका कार्यकारी अधिकृतहरुलाई स्थानीय तहमा मतदाता शिक्षा समन्वयकर्ता र वडा सचिवहरुलाई स्थानीय सुपरीवेक्षकका रुपमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको र निर्वाचन अधिकृतको कार्यालय जेठ १५ गते खुल्ने उहाँले जानकारी दिनुभयो ।
११ वटा राजनीतिक दल दर्ता भएको सोलुमा निर्वाचन सामाग्री सबै प्राप्त भइसकेकाले निर्वाचनमा सहयोग गर्र्दै यस निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सरोकार निकायहरुलाई मतदाता शिक्षा कार्यक्रमदेखि प्रतिनिधी चयन, मतदानका सामग्री ढुवानी, मतदान, मतगणना र मतपरिणामलगायत सबै प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । १५ गतेदेखि २९ गतेसम्म मुख्य निर्वाचनको कार्यालय, गाउँपालिका र नगरपालिकामा परिचयपत्र बितरण साथै निर्वाचन शिक्षा कार्यक्रम पनि हुने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
सोही अवसरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले निर्वाचन सफल पार्न राजनीतिक दलको सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सुरक्षा प्रमुख, विभिन्न पालिकाका कार्यकारी अधिकृत, निर्वाचन अधिकृत, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार