विमान दुर्घटनाका घाइते चालक राईको मृत्यू

 

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १३ गते । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा गोमा एयरको विमान अवतरणका क्रममा शनिकार दिउँसो २ बजेर ४ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका विमान चालक पारस राईको स्थानीय पासाङल्हमू निकोलनिकी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको छ ।
नाइन एन.ए.के.वाई. कल साइन भएको उक्त विमान लुक्लामा कार्गो लिएर आएको हो । घाइते सहचालक सिर्जन मानन्धरको अवस्था पनि गम्भिर रहेको र घाइते परिचारिका प्रज्ञा महर्जनलाई काठ्माण्डौँ लैजाने तयारी भइरहेको भएपनि मौसम खराबीका कारण हेलिकप्टरले उडान गर्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
तीन टुक्रा भएको विमानको ककपिटमा चालक पारस राईलाई अड्किएको अवस्थामा लामो प्रयासपछि निकालिएको भएपनि उपचारका क्रममा उहाँको मृत्यू भएको हो । खराब मौसम तथा अप्ठेरोमा भएकाले उद्दारमा समस्या भएको थियो । विमानस्थलको करिब २० मिटर नजिक हुँदा दुर्घटना भएर भिरालो ठाउँमा झरेको थियो । बाक्लो कुइरो र पानी परिरहेका कारण घाइतेलाई थप उपचारका लागि राजधानी लैजान नसकिएको हो ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाको धावनमार्ग छोटो भएका कारण उडान र अवतरणका समयमा धेरै होसियारी गर्नुपर्ने हुन्छ । अवतरणका क्रममा हावा समेत भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार