विमान दुर्घटनाका घाइते सहचालक मानन्धरको पनि मृत्यू

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १४ गते । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा शनिबार भएको गोमा एयरको विमान दुर्घटनाका घाइते सहचालक सिर्जन मानन्धरको पनि मृत्यू भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका सहचालक मानन्धरको राती करिब साँढे आठ बजे उपचारका क्रममा स्थानीय पासाङल्हमू निकोलनिकी अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ । मौसम खराबीका कारण थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लैजान नपाउँदा उहाँको मृत्यू भएको हो ।
घाइते परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भिर नभएको र थप उपचारका लागि काठ्माण्डौँ लैजाने तयारी सहित मौसम सुधारको प्रतिक्षामा रहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
चालक पारस राईको शनिबारनै उपचारका क्रममा मृत्यू भएको थियो । विमानको ककपिटमा राईलाई अड्किएको अवस्थामा लामो प्रयासपछि निकालिएको भएपनि उपचारका क्रममा उहाँको मृत्यू भएको थियो । विमानस्थलको करिब २० मिटर नजिक दुर्घटना भएको थियो ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाको धावनमार्ग छोटो भएका कारण उडान र अवतरणका समयमा धेरै होसियारी गर्नुपर्ने हुन्छ । अवतरणका क्रममा हावा समेत भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार