तिङ्लालीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने

 

 

 


सन्तोष राउत

सोलुखुम्बु । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट रहेका सोलुखुम्बुको साबिकको तिङ्ला गाविसका स्थानीयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएका छन् । तिङ्लालाई नेचा सल्यान गाउँपालिकामा गाभेर उत्पीडनमा पारेको भन्दै आन्दोलनमा रहेका उनीहरुले नयाँ संरचनामा हुन लागेको चुनावमा भाग नलिने भन्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विगत लामो समयदेखि आन्दोलनमा रहेका तिङलाबासीले आफ्नो माग पूरा नभएको भन्दै निर्वाचनमा उम्मेदवार पनि नहुने र मतदान पनि नगर्ने ज्ञापन पत्रमा उल्लेख छ । ‘सरकारले प्रशासनिक दुर्गमता, भौगोलिक प्रतिकूलता तथा जनसंख्याको उचित प्रतिनिधित्व नगरी विभेद र बञ्चितीकरण गरेको, वर्तमान सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्दा समेत दुर्गम हिमाली जिल्लाले गरेको आन्दोलनलाई बेवास्ता गरेकोले चाहाना हुँदाहुदैँ लोकतन्त्रको अभ्यास गर्ने सुनौलो अवसरबाट विमुख हुनु परेकोप्रति मर्माहत छौँ’ ज्ञापन पत्रमा भनिएको छ ।
स्थानीय जनताको भावना बमोजिम जिल्ला प्राविधिक समितिको प्रतिवेदनअनुसार माग सम्बोधन गर्न आत्मसम्मान, स्वाभिमान र पहिचान स्थापित गराउन नजताको सेवा सुविधा र पहुँच स्थापित गर्ने गरी जनताको नयायपूर्ण मागको सम्बोधन गर्नुपर्ने संघर्ष समितिका काठमाडौँ संयोजक गोम्बु शेर्पाले बताउनुभयो ।
हाल नेचा सल्यान गाउँपालिकाको केन्द्र नेचा बेतघारीमा रहेकाले पहिलाको सदरमुकाम सल्लेरी भन्दा घण्टौँ बढी लाग्ने भएपछि तिङ्लाबासी आन्दोलित भएका हुन् । पछिल्लो समय दुधकुण्ड नगरपालिकामा समायोजन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार