हिमशिखर समाचारदाता
सोलुखुम्बु । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा रहेका अस्थायी शिक्षकहरुले आन्तरिक रुपमा हुने स्थायी शिक्षकका लागि हुने ‘गोल्डेन हेण्डसेक’ भन्दा परीक्षामा सहभागी हुने बढी भएका छन् । कार्यरत अस्थायी शिक्षकहरुलाई सरकारले शिक्षा ऐनको आठौँै संशोधनमा गरेको व्यवस्थाअनुसार अस्थायी शिक्षकलाई ‘गोल्डेन हेण्डसेक’ लिएर अवकाश लिने वा आन्तरिक प्रतियोगितामा सहभागी भइ स्थायी शिक्षक हुने विकल्प सहित गरेको आन्तरिक विज्ञापनअनुसार परीक्षा दिनेको संख्या कम देखिएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लामा कार्यरत ३२३ जना अस्थायी शिक्षकमध्ये १८८ जनाले स्थायी शिक्षक बन्नका लागि प्रतियोगितामा सहभागी हुने फारम भरेका छन् भने १३५ जनाले ‘गोल्डेन हेण्डसेक’ का लागि आवेदन दिएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका कर्मचारी प्रशासन शाखाका खरिदार नेत्र घिमिरेलले जानकारी दिनुभयो । जसमा प्राथमिक तहका २१० जना अस्याथी शिक्षकमध्ये १२६ जना परीक्षा दिने भएका छन् ९४ जना शिक्षकले ‘गोल्डेन हेण्डसेक’ रोजेका छन् । निम्न माध्यामिक तहका ४५ जना शिक्षकमध्ये स्थायीका लागि हुने आन्तरिक परीक्षामा २६ जनाले भाग लिने भएका छन् भने सुविधा लिनेमा १९ जना शिक्षक रहेका छन् । त्यस्तै, माध्यामिक तहमा ५८ जना अस्थायी शिक्षकमध्ये ३६ जनाले परीक्षा र २२ जनाले अवकाश रोजेका छन् ।
सामुदायिक विद्यालयहरुमा अस्थायी तथा लियन पदमा अध्यापनरत शिक्षकहरुको परीक्षा वा अवकाशमध्ये एक रोज्न गरिएको विज्ञापनका आधारमा शिक्षकले आफ्नो इच्छाअनुसारको विकल्प रोजेका हुन् । संशोधित शिक्षा ऐन २०२८ ऐनअनुसार अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने वा आन्तरिक प्रतियोगितामा सहभागी हुने गरी दुवै विकल्प खुला राखिएको थियो ।
हालसम्मको व्यवस्थाअनुसार ‘गोल्डेन हेण्डसेक’ को सुविधा रोज्ने शिक्षकले कार्य अवधिका आधारमा एकमुष्ट रकम लिएर सेवाबाट विदा लिनुपर्ने हुन्छ । परीक्षा रोज्ने शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा उतिर्ण भएमा स्थायी शिक्षक भई काम गर्न पाउने र अनुतिर्ण भएमा खाली हात अवकास हुनुपर्ने व्यवस्था छ । २०७२ असोज २ गतेसम्म अस्थायी शिक्षकमा नियुक्ति पाई अविच्छिन्न रुपमा कार्यरत शिक्षकले सुविधा वा परीक्षामा भाग लिनेछन् । जसमा २०४९ साल पुस २० सम्म, २०४९ साल पुस २१ देखि २०६१ साल साउन २० सम्म र २०६१ साल साउन २१ देखि २०७२ साल असोज २ गतेसम्म नियुक्ति पाएका अस्थायी शिक्षकले फरक फरक प्रतिस्पर्धा गर्ने छन् ।
‘गोल्डेन हेण्डसेक’ लिने शिक्षकले पाँच वर्षदेखि १० वर्षसम्म अस्थायी सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आखिरी आधा महिनाको तलब बराबरको रकम, १० वर्षदेखि १५ वर्षसम्म काम गरेका शिक्षकले आखिरी एक महिनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले आखिरी तलबको डेढ महिना बराबरको रकम पाउने व्यवस्था छ ।