सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुमा आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले प्रबिद्धता जनाएका छन् । चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि रुपमा बालबालिकाको प्रयोग नगर्न महिला तथा बालबालिका कार्यालय अन्तरगत रहेको जिल्ला बाल कल्याण समिति सोलुखुम्बुले दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो ।
बाल अधिकार महासन्धिलाई सम्मान गर्दै २०७४ जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको गतिविधिहरुमा बालबालिका र विद्यालय प्रयोग नगरी उनीहरुको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाका हामी सबै राजनीतिक दलहरु प्रतिबद्ध छौँ भनी हस्ताक्षर गरेको महिला तथा बालबालिका कार्यालय सोलुखुम्बुकी प्रमुख रश्मी श्रेष्ठले बताउनुभयो ।
राजनीतिक दल वा उम्मेदवारले बालबालिकालाई चुनावी ¥याली, जुलुस, आमसभालगायतका कार्यक्रममा बालबालिकालाई संलग्न नगराउने, सभा सम्मेलनमा कलाकार, वक्ताका रुपमा प्रयोग नगर्ने, निर्वाचन तथा राजनीतिक प्रयोजनमा श्रमिकका रुपमा काम नलगाउने, द्वन्द्व सिर्जना हुने तथा हुल हुज्जत गर्ने गराउने कार्यमा प्रयोग नगर्ने, निर्वाचन बहिस्कारका लागि दलहरुले मतदाताको बाटो अवरोध गर्ने तथा अल्मल्याउने कार्यमा नलगाउने, विद्यालयका विद्यार्थीको समिति गठन गरी परिचालन नगर्ने, निर्वाचन उद्देश्यले जासुसी, खराबी, सुराकी, सूचनाबाहक तथा विरोधी समूहका रुपमा परिचालन नगर्ने र चन्दा सङ्कलनमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
११ वटा राजनीतिक दल दर्ता भएको सोलुमा निर्वाचन निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन दलहरुले गरेको प्रतिबद्धताले सकारात्मक भूमिका निर्वाह गर्ने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । निर्वाचन सफल पार्न राजनीतिक दलको सहयोग आवश्यक हुने उहाँको भनाइ छ ।
सोही अवसरमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गर्नका लागि जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेकाले प्रत्येक पालिकाबाट निर्वाचनमा नखटिएका एक एक जना शिक्षक समितिमा रहने बताइएको छ । कसैले सम्झौता पत्र विपरीत गरेको थाहा पाएमा पनि सम्बन्धित निकायमा खबर गर्न आग्रह गरिएको छ । कार्यक्रममा विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा प्रमुख, विभिन्न अधिकारसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।