एमालेले छान्यो नगरपालिकामा प्रमुख र उपप्रमुखको उम्मेदवार (वडा अध्यक्ष सहित)


हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १५ गते । नेकपा एमालेले सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको उम्मेदवार चयन गरेको छ । आकांक्षी धेरै भएपछि ढिलो गरी एमालेको एक नम्बर प्रदेश कमिटीले मेयरमा आङदामी शेर्पा र उपप्रमुखमा कल्पना नाछिरिङलाई उम्मेदवार तय गरेको नेकपा एमाले सोलुखुम्बुका प्रचार विभाग प्रमुख विरुदास श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा एमाले जिल्ला कमिटीबाट सर्वसम्मत् उम्मेदवार चयन हुन नसकेपछि प्रमुखमा सात जना र उपप्रमुखमा चार जना आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको थियो । प्रदेश कमिटीको बैठकमा समेत उम्मेदवार छनोटमा कठिन भएपछि प्रदेश कमिटीले प्रदेश कमिटी सचिवालयलाई उम्मेदवारी छान्ने जिम्मेवारी दिएको थियो ।
एमालेले सबै पक्षलाई विचार गरी निर्णय लिएको बताइएको छ । उमेर र अनुभवले खारिएका र युवाको सम्मिश्रण गरेर उम्मेदवार चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । । मेयरका उम्मेदवार शेर्पा लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेको र २०५४ सालमा साबिकको सल्लेरी गाउँ विकास समितिका निर्वाचित अध्यक्ष हुनुहुन्छ भने उहाँले प्रमुखको उम्मेदवारीका लागि अमेरिकी स्थयी आवास अनुमति (पिआर) समेत त्याग्नुभएको छ ।
प्रमुखको दौडमा एमाले जिल्ला उपसचिव रामकाजी श्रेष्ठ र सम्पर्क समितिका बच्चुनारायण श्रेष्ठको नाम पनि चर्चामा भएपनि अन्त्यमा शेर्पाले बाजी मार्नुभएको छ भने । त्यस्तै, उपप्रमुखमा अन्तिमसम्म याङडी लामाको नाम चर्चामा रहेपछि उहाँको पक्षमा निर्णय हुन सकेन ।
त्यस्तै, एमालेले नगरपालिकामा रहेका १० वडाका अध्यक्षको समेत उम्मेदवार चयन गरेको जनाएको छ । जसमा वडा नं. १ मा रिन्जीफूर्वा शेर्पा, २ मा सोनामग्याल्जेन लामा, ३ मा गोपाल पुलामी मगर, ४ मा ओङछु लामा, ५ मा मिङमार तामाङ, ६ मा रामकुमार श्रेष्ठ, ७ मा लालमान श्रेष्ठ, ८ मा पासाङ कटुवाल, ९ मा देण्डी तामाङ र १० मा मि’मार छिरी शेर्पा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार