दोस्रो चरणको निर्वाचन असार १३ पछि मात्र

काठमाडौं, जेठ १६, असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने लगभग पक्का भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जेठ ३१ गते तोकिएको निर्वाचन मिति असार ९ गते सार्ने निर्णय गरेको थियो।

९ गते मुस्लिम धर्मालम्बीहरुको चाड रमाजानको अन्तिम शुक्रबार पर्ने भन्दै मिति सार्नुपर्ने आवाज उठ्न थालेपछि चुनावको मिति सार्न लागिएको हो।

विभिन्न मुस्लिम संगठनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चुनाव सार्न माग गरेका थिए।

‘आज दिउँसो पनि हज समिति लगायतका मुस्लिम संगठनले १३ गतेसम्म चुनाव नगर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्नुभएको छ’, गृह मन्त्री विमलेन्द्र निधिले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूले उहाँहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’

निधिले चुनावको मिति बारे छलफल गर्न प्रधानमन्त्री दाहालले आजै साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने र आयोगको सुझाव लिने जानकारी दिए। ‘आयोगसँग छलफल गरेपछि मितिको टुंगो लाग्छ’, निधिले भने, ‘चुनाव सार्नुपर्ने भए मन्त्रिपरिषद्ले निर्णय गर्छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार संसद भवनमा डाकेको सर्वदलीय बैठकमा चुनावको मिति सार्नुपर्ने कुरा उठेको थियो। प्रधानमन्त्री दाहालसमेत सहभागी उक्त बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति एक दिन अगाडि सार्नुपर्ने प्रस्ताव गरेका थिए।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका दोस्रो तहका नेताले पनि चुनावको मिति सार्नु पर्ने सुझाव दिएका थिए। बैठकमा सहभागी राजपा नेताहरुले असार १३ गते रमजान सकिने भएकाले १४ गते चुनाव गर्नुपर्ने सुझाव दिएको संघीय समाजवादी फोरमका नेता शिवजी यादवले सेतोपाटीलाई जानकारी दिए।

राजपाका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले पनि असार १४ मा दोस्रो चरण निर्वाचन गर्ने निर्णय भए आफूहरुले त्यसलाई सकारात्मक रुपमा लिने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रमाजानको अन्तिम शुक्रबार चुनाव गर्ने सरकारी निर्णय गलत भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा थापाले निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

यसअघि निर्वाचन आयोगले सरकारलाई असार १४ गते दोस्रो चरणको निर्वाचन गर्न सल्लाह दिएको थियो। ‘असार १३ गते रमाजन सकिने र १५ गते धान दिवस पर्ने भएकाले हामीले १४ गते चुनाव गर्न सल्लाह दिएका थियौं’, आयुक्त ईश्वरीप्रसाद पौडेलले भने। setopati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार