काठमाडौँः सरकारले आगामी साउन १ गतेपछि नियुक्त हुने निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायत सरकारी कोषबाट पारिश्रमिक पाउने सबै कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबाहदुर महराले सोमबार व्यवस्थापिका–संसदमा आव २०७४/०७५ को बजेट प्रस्तुत गर्दै सोसम्बन्धी कानुन संसद्को यसै अधिवेशनमा पेस गरिने जानकारी गराएका छन् । सङ्घीय संरचनामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्षम हुने गरी निजामती सेवाको पुनःसंरचना गरिने उल्लेख छ ।
सङ्घीय प्रदेश निजामती सेवा र स्थानीय सेवालाई मार्गदर्शन गर्ने गरी राष्ट्रिय निजामती सेवा नीति तर्जुमा गरिने छ । सार्वजनिक सेवा प्राप्तिलाई जनताको अधिकारका रूपमा स्थापित गरिने छ ।
भ्रष्टचारजन्य क्रियाकलापमा शून्य सहनशीलताको नीति अवलम्बन गरी राष्ट्रिय सदाचार पद्धतिको विकास गरिने छ । सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि मर्मत खर्च घटाउन र अनधिकृत व्यक्तिले प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि निश्चित मापदण्ड तोक्न सवारी साधनको उपयोग र हस्तान्तरणसम्बन्धी नीतिगत व्यवस्था गरिने बजेटमा उल्लेख छ । नेपाल तारा