सोताङमा खाद्यन्न अभाव


जेपी थुलुङ/सोताङ
सोलुखुम्बु । सोलुखुम्बुको कोशीपारीको बजार सोताङमा केही दिनयता खाद्यान्न अभाव हुन थालेको छ । कच्ची सडक बिस्तार भएसँगै ढुवानीका सवारी सञ्चालनमा भएपनि वर्षाका कारण कच्ची सडक हिलाम्य बनेपछि अहिले सबै पसलमा खाद्यन्नको अभाव भएको हो ।


यसअघि हिउँदयाममा केही समय नियमित सवारी साधन सञ्चालन भएको भएपनि केही दिन यता सवारी साधन नचल्दा सोताङको शिवटारमा खाद्यन्नको अभाव हुन थालेको हो । वर्षा सुरु भएपछि नियमित सवारी साधन नचल्दा पहिलाको भण्डारण गरेको खाद्यन्न सकिएकाले अभाव हुन थालेको स्थानीय व्यापारीले बताएका छन् ।
दैनिक उपभोग्य सामाग्री चामल, तेल, चिनी, मैदालगायतका सामान ठप्प हुँदा दैनिक सयाँै ग्राहक खाली हात फर्कनु परेको किरात स्टोरका प्रोपाईटर बबिता राईले बताउनुभयो । सवारी सञ्चालनमा आएपछि गाडीको भरपर्दा थोरै भण्डारण गरेकाले सबै खाद्यन्न ठप्प भएको उहाँको भनाइ छ ।
सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारीका अधिकांश साबिकका आधा दर्जन गाविसका ग्राहकहरुले सोताङबाटनै खाद्यन्नका सामाग्री लाने गर्छन् । यसअघि दुधकोशी दिप्लीघाटदेखि करिब २२ समूह खच्चडले ढुवानी गर्ने गरेको भएपनि सवारी आवागमन हुन थालेपछि अघिकांस खच्चड खुम्बु क्षेत्र तथा सडक नपुगेको क्षेत्रमा लगिएको छ । हाल कोशीपारी खड्का स्टोरकोे मात्र दुई वटा मालबहाक ट्रयाक्टरले सामान ढुवानी गर्ने गर्दछन् ।
बर्षात शुरु भएपछि दुधकोशी नदीमा सामान तार्न कठिन भएका कारण शिवटारमा सामानको अभाव खड्किएको खड्का स्टोरका प्रोपाईटर दिपक खड्काले बताउनुभयो । कोशीमा पानीको बहाब बढ्न थालेको र कोशीवारी सडक हिलो भएकाले ढुवानीका साधन चल्न नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार