केसीकै क्षेत्रमा काँग्रेसभित्र विद्रोहको सङ्केत

हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १८ गते । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद बलबहादुर केसीको गृह गाउँपालिकाका नेता तथा कार्यकर्ताले टिकट वितरणमा अन्याय भए विद्रोह गर्ने सङ्केत गरेका छन् ।जहाँ काँग्रेसको पक्कड क्षेत्र मानिन्छ ।
दोस्रो चरणको स्थानीय तहको चुनावका लागि टिकट वितरणमा पुराना नेताहरुलाई अन्याय भएमा काँग्रेसका नेता कार्यकर्ताहरु सङ्गठित विद्रोहमा लाग्ने बताउन थालेकाछन् । नेतृत्व तहका नेताहरुले पार्टीको विधान र प्रचलित मान्यताअनुसार टिकट वितरण नगरी मनपरी तरिकाले टिकट आफू निकटकालाई दिएमा विद्रोहबाट हुने क्षतिको जिम्मेवारी लिन नेतृत्वलाई नेता कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।
नेचा सल्यान गाउँपालिकाका काँग्रेसमा धेरै योगदान गरेको दाबी गर्ने पुराना अनुभवी नेता श्रीलाल थापामगरले आफूलाई पार्टीले सही मूल्याङ्कन गरेर टिकट दिनेमा विश्वस्त रहेको भन्दै अन्याय भएमा स्वतन्त्र उम्मेदवारमा भएपनि जनता समक्ष जाने बताउनुभयो ।
‘पार्टीले रुख चिन्ह दिएमा त्यसैमा विजय भएर देखाउने टिकट नदिएमा जनताको चाहानाअनुसार जुनसुकै चिन्ह लिएर पनि उम्मेदवार दिने योजनामा छु’ थापामगरले भन्नुभयो । आफूले करिब ४० वर्षअघिदेखि अहिलेसम्म पार्टीका लागि लगातार काम गरेको तर कुनै पद नमागेको बताउने मगरले यस पटक पहिलो र अन्तिम पटक माग गरेको दाबी गर्नुभयो ।
त्यस्तै, सांसद केसीको गृह वडामा पर्ने नेचा सल्यान गाउँपालिकाको वडा नं. २ मा वडा अध्यक्षमा मिलन केसीले स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेका छन् । वडा नं. १ मा पनि सिनियर नेताले टिकट नपाएमा विद्रोह गर्ने चेतावनी स्थानीय कार्यकर्ताले दिन थालेका छन् । एक कार्याकर्ताकाअनुसार पार्टीले मनपरी टिकट दिएमा ठूलो हिस्सा असन्तुष्ट हुने भएका छन् ।
वडा नं. १ मा नारायण निरौला, जसबहादुर राई र रमेश राईको चर्चा सिफरिस भएको छ । त्यसमा नारायण निरौला पुराना इमान्दान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । अधिकांसको रुचि निरौलाप्रति रहेको बताइएको छ । कार्यकर्तालाई हलिया ठान्ने प्रवृत्ति र जे गरेपनि हुन्छ भन्ने मनस्थिति भए विद्रोह गर्ने नेताहरु बताउँछन् ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दासमेत काँग्रेसले नगरपालिका र गाउँपालिकामा उम्मेदवार तय गर्न नसकेपछि कांग्रेसभित्र चरम असन्तुष्टी फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार