सन्तोष राउत/सोलुखुम्बु
सोलुखुम्बु, जेठ १८ गते । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जेठ १३ गते विमान दुर्घटना हुँदा टाइफाइड भएर विदामा बस्नुभएका नागरिक उड्ययन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगेन्द्रनाथ कुँवरलाई केन्द्रिय कार्यालयले तानेको छ । विमान दुर्घटनाको कारण बारे छानबिन गर्न उहाँलाई बोलाइएको हो ।
विमान दुर्घटनाका क्रममा स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएकोमा बिदा सकिन दुई दिन बाँकी छँदा दुर्घटना भएको र दुर्घटना भएको भोलिपल्ट लुक्ला पुगेर विमानस्थल प्रशासन सम्हालेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई समेत जानकारी गराएर विदा बसेको बताउनुभयो । टावरमा भएको कुराकानीको रेकर्डअनुसार बिमान अवतरणका समयमा चालकले समेत मौसम समेत राम्रो रहेको भनेकाले विमान दुर्घटनामा प्राधिकरणले अवतरणका लागि दिएको अनुमति दुर्घटनाको कारण हुन नसक्ने उहाँले बताउनुभयो ।
छानविनका लागि केन्द्रिय कार्यालय झिकाइएका कुँवर बिहीबार काठमाडौं पुग्नुभएको छ । अहिले लुक्ला विमानस्थलको प्रमुखमा यसअघिका प्रमुख बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको जनाइएको छ । कुँवरको बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफुले १५ दिनको लागि बिदा मागेकोमा ७ दिनको बिदा रेकर्ड सहित र बाँकी मौखिक स्विकृत भएको दाबी गर्नुभयो । दुर्घटनामा घाइत चालक पारस राई सहचालक सिर्जन मानन्धरको पनि मृत्यू थियो भने परिचारिका घाइते हुनुभएको थियो ।
मौसम खराब भन्दा पनि विमानस्थलको अलि तलबाट अवतरण गर्न खोज्दा विमानस्थलको छेउमा ठोक्किएर दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी पासाङनुर्बु शेर्पाले बताउनुभयो । कहिलेकाँही त्यस क्षेत्रमा अचानक भुमरी पर्ने खालको हावा चल्ने भएकाले दुर्घटना भएको भन्दै त्यसदिन अन्य घरै उडान भएका थिए । थप कारण अनुसन्धानपछि आउने बताइएको छ । विमानस्थलको करिब २० मिटर नजिक दुर्घटना भएको थियो ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाको धावनमार्ग छोटो भएका कारण उडान र अवतरणका समयमा धेरै होसियारी गर्नुपर्ने हुन्छ । अलि माथि अवतरण गर्न खोज्दा धानमार्ग नपुग्ने र छेउबाट अवतरण गर्न खोज्दा ठोक्किने समस्या रहेको बताइन्छ । यसअघि पनि कहिले छेउमा ठोक्किएर, कहिले भित्तामा ठोक्किएर करिब नौ पटक दुर्घटना भएको छ ।