विद्यार्थीलाई पोशाक निःशुल्क वितरण

हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ५ मा रहेको सेर्गा बागम आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । स्थानीय समाजसेवी तथा टकर्मक दुरदर्शी समूहका अध्यक्ष दावा शेर्पाले आफ्नो नीजि लगानीमा एक सेट कपडा तथा जुत्ता वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक गोपीचरण निरौलाले जानकारी दिनुभयो ।
अधिकाँस विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाका भएकाले पोशाक उपलब्ध गराउँदा अभिभावकलाई धेरै राहत मिलेको प्रधानाध्यापक निरौलाले बताउनुभयो । अहिलेसम्म विद्यालय स्थापना भएको वषौँ भएपनि हालसम्म एकै किसिमको पोशाकको व्यवस्था अभिभावककाले गर्न नसकेको भन्दै अब सबै विद्यार्थी एकै किसिमका देखिने उहाँले बताउनुभयो ।
त्यस विद्यालयलाई विगत समयदेखि विभिन्न सहयोग गर्दै आउनुभएका समाजसेवी दावा शेर्पाले विद्यालयका धेरैजसो अभिभावकले पोशाक किन्न नसक्ने अवस्था थाहा पाएपछि धनी गरिब सबै विद्यार्थीलाई एकरुपता गर्नका लागि पोशाक वितरण गरेको बताउनुभयो । गरिब विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै शेर्पाले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो ।
आफ्ना दुई जना बच्चाले निःशुल्क पोशाक पाएपछि अभिभावक बिनु विकले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, आफैँले विद्यालयको पोशाक किन्न नसकेका बेला सहयोग पाएपछि सजिलो भयो, सहयोग गर्नेलाई धन्यबाद छ । त्यस्तै, अर्काको घरमा बसेर ज्याला मजदुरी गरी परिवार पाल्दै आउनुभएका तीन जना विद्यार्थीका अभिभावक मनकुमार तामाङले पनि विद्यालयको पोशाक पाएपछि खुशी भएको बताउनुभयो । यसरी सबैको सहयोग पाएमा छोराछोरीलाई शिक्षा दिन सकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार