हिमशिखर ब्यूरो/सोलुखुम्बु
सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुका नेता आङगेलु शेर्पालाई सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा उम्मेदवारी दिन जिल्लादेखि केन्द्रसम्मका नेता–कार्यकर्ताको तिव्र दबाब परेको छ ।
नेपाली काँग्रेस भन्दा बाहिर पनि स्वच्छ छविका लोकप्रिय नेताका रुपमा हेरिने शेर्पा उम्मेदवार बन्दा जीत सुनिश्चित भएकाले काँग्रेसबाट उहाँलाई दबाब आएको र एक मात्र नगरपालिकाको समृद्धिका लागि काँग्रेसबाट निवर्तमान पार्टी सभापति समेत रहनुभएका शेर्पा नै उठ्नुपर्ने चौतर्फी दबाबका कारण शेर्पा निकै तनावमा रहेको उहाँ निकट स्रोतले बताएको छ ।
यसअघिको संविधान सभाको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका शेर्पाको साँढे १५ हजार भन्दा बढी लोकप्रिय मत आएका कारण केन्द्रका नेताहरुले पनि जीत सुनिश्चतताकालागि शेर्पालाई नै मेयरमा उठ्न दबाब दिएको बुझिएको छ । जिल्लाका नेता तथा कार्यकर्ताले पनि पार्टीभित्र शेर्पा मात्रै नगरपालिकाको मेयर जित्न सक्ने र योग्य उम्मेदवार भएको विश्लेषण गर्दै उहाँको विकल्प नभएको बताउँदै आएका छन् ।
‘मेयर उठ्नु पर्यो भन्ने सबै क्षेत्रबाट दबाब आइरहेको छ, केही दिन यता त उहाँलाई आउने अधिकांश फोनहरु मेयरकै बारेमा हुन्छ, कोही बेला त फोन नै अफ गर्नुपर्ने अवस्था छ’ शेर्पा निकट स्रोतले भन्यो । पछिल्लो समय अधिकांस स्थानीय तहमा कडा प्रतिस्पर्धा हुने र सिनियर नेताहरु अगाडी आए मात्र जीत सहज भएको निष्कर्ष सहति नेपाली काँग्रेस लुखुम्बुभित्र सबै स्थानीय तहमा सिनियर नेताहरुनै चुनाबी मैदानमा निस्कन सर्वत्र दबाब परेको बताइएको छ ।
कस कसलाई दबाब बढेको छ ?
कार्यकर्ताहरुले नगरपालिकामा आङगेलु शेर्पा, दुधकौशीका गाउँपालिकामा विनोद बस्नेत र अन्य ईकाइहरुमा पनि सिनियर नेता नै उठ्नुपर्ने आवाज उठाईरहेका छन् । दुधकोशी गाउँपालिकामा नेता भोजराज कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने लिखु पिकेमा नेता रामबहादुर बस्नेतले कसरत गरेको बुझिएको छ । नेचा सल्यान गाउँपालिकामा सिनियर नेता श्रीलाल थापामगरलाई तिव्र दबाब बढेको छ भने अन्यमा पनि सिनियर नेताको माग आएको काँग्रेस स्रोत बताउँछ । यसमा नेताहरु पनि सकरात्मक बन्दै गएको बताइएको छ ।