बुटिकसँगै भविष्य बुन्दै नेचाली महिला

सन्तोष राउत/सोलुखुम्बु

नेचा (सोलुखुम्बु) । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ३ मा नेचाली महिलाहरु दैनिक कुर्ता, साडी तथा सललगायत विभिन्न कपडामा सितारा, पोते लगाउन सिकिरहेका छन् । पछिल्लो समय आकर्षक बन्दै गएको बुटिक डिजाइन व्यवसायमा लाग्नका लागि तालिम लिइरहेको उनीहरु बताउँछन् ।


तालिमा सहभागी नेचा सल्यान गाउँपालिका ३ की बालिका घिमिरेले भन्नुभयो, ‘गाउँमा आयआर्जनको बाटो कम हुने भएकाले सीप सिकेर स्वाबलम्बी बन्दै आयआर्जन गर्न नयाँ खालको तालिम लिन लागेकी छु, यसबाट भविष्यमा राम्रो गर्ने सोच रहेको छ ।’ सीप भन्दा ठूलो कुरा केही नभएकाले सीपमूलक तालिम गर्न लागेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति सोलुखुम्बुको आर्थिक सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुको आयोजनामा नेचा सल्यान गाउँपालिकाको नेचामा भएको डेढ महिने आधारभूत बुटिक डिजाइन तालिमले नेचाली महिला उत्साहित भएका छन् ।
तालिममा सहभागी स्थानीय गममाया राई पनि बुटिक तालिमपछि व्यवसायिक बन्ने सोँचमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस्तो सीपमूलक तलिमले आत्मनिर्भर बन्न हौसला मिलेको छ । यस सीपबाट स्वरोजगार बन्ने उहाँको भनाइ छ । देसका विभिन्न स्थानमा बुटिक व्यवसायबाट राम्रो आम्दानी गरिरहेको खबर सुनेको भन्दै उहाँले गाउँ गाउँमा बुटिकमा तयार गरेको कपडाको माग बढिरहेकाले यसको भाविष्य राम्रो भएको उहाँले बताउनुभयो ।


घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका उद्योग अधिकृत चेतनाथ घिमिरेले सीमित स्रोत साधानको बाबजुद पनि अन्य निकायको समेत स्रोत परिचालन गरी स्थानीय स्रोत, बजारको माग र स्थानीयको चाहानालाई पूरा गर्नका लागि तालिम प्रदान गरेको भन्दै बुटिक डिजाइन तालिमले बजारको माग पूरा गर्दै रोजगारीका अवसर सिर्जना गर्नेे बताउनुभयो । यस्ता सीपबाट स्थानीय गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने भएकाले आगामी दिनमा आवश्यकताअनुसार कार्यालयले थप पुनर्ताजगी तालिम उपलब्ध गराउने उहाँको भनाइ छ ।
तालिममा सहभागी अर्की प्रशिक्षार्थी स्थानीय जयन्ता अधिकारीले आगामी दिनमा यस सीपको प्रयोग गरी गुणस्तरीय सामान उत्पादन गर्ने र व्यवसायिक रुपमा लाग्ने बताउनुभयो । यसबाट रोजगारीको चिन्ता समेत नहुने विश्वास उहाँको छ । उहाँले तालिमबाट सिकेको सीपले राम्रै आयआर्जन गर्न सकिने भएकाले यसलाई पेशाका रुपमा अँगाल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार