जेपी थुलुङ/सोताङ
सोलुखुम्बुको कोशीपारीको गाउँपालिका सोताङको शिवटार बजारमा खानेपानीको हाहाकार भएको छ । विगतका वर्षदेखिनै खानेपानीको चरम समस्या भोग्दै आएका सोताङबासी प्रत्येक वर्ष पानीका मुहान क्रमशः सुक्दै जानथालेपछि खानेपानीको हाहाकार हुन थालेको हो ।
बर्षायाममा पलाउने गरेको पानी फागुन मुहानहरु महिनादेखिनै सुक्न थालेपछि सोताङको शिवटारबासी घण्टौँ लगाएर खानेपानी बोक्न बाध्य छन्, त्यो पनि घण्टौँ लाइनमा बसेर । बजार नजिकै सानो पानीको मुहान भएपनि सबैले सोही पानी नै प्रयोग गर्नाले पालो पर्खनुपर्दा लामो समय लाग्ने स्थानीय सम्झना राईले गुनासो गर्नुभयो । सुक्न लागेको त्यस मुहानको पानी शिवटारबासीले मात्र नभई बिरेन्द्रज्योति माध्यामिक विद्यालय करिब एक हजार भन्दा बढी विद्यार्थीहरुले समेत प्रयोग गर्दै आएका छन् ।
पानीको प्रयोग अन्य दिन सामान्य भएपनि शनिबार ४ देखि ५ घण्टा पर्खेर मात्र प्रगोग गर्न पाउने सोताङका एक व्यपारी मनकुमार राईले बताउनुहुन्छ । बर्षौदेखि नै शिवटारबासीले पानीको चरम समस्या भोग्दै आएकाले यसको दिर्घकालीन सामाधानका लागि राष्ट्रिय योजना आयोगबाट बजेट व्यवस्था गरिएको खानेपानी आयोजनाको काम शुरु भएको भएपनि अझै करिब तीन बर्ष समय लाग्ने जनाइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष दुर्गा बस्नेतकाअनुसार महाकुलुङ गाउँपालिकाको लिन्जीखर्क भन्ने स्थानबाट मेहान रहेको खानेपानी आयोजनाको काम शुरु भएको दुई बर्ष भएपनि पाँच बर्षको सम्झौता भएअनुसार अझै तीन बर्ष लाग्न सक्ने बताउनुभयो । उहाँकाअनुसार काम तिब्र भइरहेको तर मकालु बरुण राष्ट्रिय निकञ्जको जग्गा भएकाले वनस्पतिलाई जोगाउँदा काम केही ढिला भएको हो । हाल कबिर ४० प्रतिशत काम सम्पन्न भएको बस्नेतले दाबी गर्नुभयो ।