नगरपालिकामा प्रमुख छान्न काँग्रेसलाई सकस, को को छन् दौडमा ?


हिमशिखर समाचारदाता

सोलुखुम्बु । आकांक्षी समेत काँग्रेसमा धेरै देखिएपछि सोलुखुम्बुको एक मात्र सोलुदुडकुण्ड नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार छान्न काँग्रेसलाई सकस भएको छ । नगरको प्रमुखमा यूवा नेता आङगेलु शेर्पाको माग बढेको भएपनि अहिलेसम्म शेर्पा अघि बढ्ने संकेत नदेखिएको नेताहरुले बताएका छन् ।

शेर्पा अघि नबढ्ने हो भने नगरपालिकामा यूवा पुस्ताका नेता नाम्गेलजाङबु शेर्पाको प्रमुखमा चर्चा बढ्दै गएको नेताहरुको दाबी छ । लामो समयदेखि समाज सेवामा संलग्न शेर्पा सल्लेरी नगर विकास समितिका अध्यक्ष भएपछि नगरको विकासका लागि दिर्घकालीन योजना बनाउन व्यस्त भएको बताउनुहुन्छ ।

देश बिदेशवाट सहयोग जुटाएर सोलुखुम्बुको शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कार्यरत रहेको र नगरपालिकाको प्रमुख बनेर सेवा गर्ने अवसर पार्टीले आफूलाई दिनेमा ढुक्क भएको उहाँ बताउनुहुन्छ । इमान्दार र विकासप्रेमी व्यक्तिहरु राजनीतिमा आउनु पर्छ भन्ने जन दबाब धेरै छ, नगरपालिकामा युवा पुस्ताको प्रतिनिधिका रुपमा केही गर्न सकिन्छ –शेर्पाले भन्नुभयो ।

नगरपालिकामा काँग्रेसबाट शेर्पा सहित छिण्डील्हमु शेर्पा, दावागेलु पाख्रिन, कुसाङ शेर्पा, आङकाजी शेर्पा, मङ्गलसिं तामाङलगायत आकांक्षीका रुपमा अघि सरेका छन् । सोलुखुम्बुको अधिकांश स्थानीय निकायमा नेपाली काँग्रेसले अझै पनि उम्मेदवारको चयन गर्न नसक्दा कार्यकर्ता अन्योलमा परेको बताउँछन् ।

त्यस्तै, सात गाउँपालिका रहेको सोलुखुम्बुका दुई वटा गाउँपालिकामा प्रमुख र उपप्रमुख चयन गरेको काँग्रेसले नगरपालिका सहित अन्य गाउँपालिकामा वडा तहसम्म उम्मेदवार छानेको छैन । दुई समूहबाट फरक फरक उम्मेदावारको सिफारिस केन्द्रमा बुझाए पनि छलफल हुन नसकेको एक नेताले जानकारी दिनुभयो ।

नेताहरुले खुलेर गुटलाई स्वीकार नगरे पनि गुटगत छलफलमा व्यस्त रहेको बताइएको छ । कांग्रेसको उम्मेदवार घोषणामा ढिलाई हुँदा कार्यकर्तामा निरासा छाएको छ । अरु दलले मतदाता तान्न थालेकाले कार्यकर्ता अतालिएको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार