पर्यटकीय नगरमा खुम्बुमा चुनावी सरगर्मी बढ्दै, चुङ्बाको अभियान तीव्र

हिमशिखर समाचारदाता

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सकिएसँगै चुनावी सरगर्मी सुरु भएको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट वरिष्ठ पर्यटन व्यवसायी चुङ्बा शेर्र्पालाई उम्मेदवार चयन गरेपछि चुनावी माहोल तातिएको हो ।

शेर्पाले टिकट पाएपछि चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको बताउनुभयो । उहाँले यस गाउँपालिका अन्तर्गत पाङबोचे, फोर्चे, खुम्जुङ, थामे, नाम्चेलगायतका पर्यकीय गाउँहरुमा पुगेर पहिलो चरण भेटघाट सकेर मतदाताहरु माझ विकास निर्माण र पर्यटन प्रबद्र्धनका मुख्य एजेण्डा अघि सारेको उहाँले बताउनुभयो ।

सोलुखुम्बुमा स्थानीय तहमा पार्टीभित्रको आन्तरिक कलहका कारण काँग्रेसमा उमेदवारीको टुङ्गो नलागेपनि शेर्पा पार्टीको सर्वसममत उम्मेदवारका रुपमा छानिनु भएको हो । पार्टीका जिल्लास्तरका सबै नेताहरुको सहमतिबाटै आफु उम्मेदवार बनेको शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका साथीहरु, गाउँका शुभचिन्तकहरु, पर्यटन व्यवसायी र अरु साथीहरुले पनि निर्वाचनमा उमेदवार बन्न दबाब दिएकाले म चुनाबी अभियानमा होमिएको छु, पहिलो चरणको भेटघाट सकियो, माहोल राम्रो छ । प्रतिस्पर्धी साथीहरु भन्दा म धेरै माथि छु ।’ उहाँको दाबी छ ।

लुक्लाको परिचित खुम्बु रिसोर्टका मालिक समेत रहनुभएका शेर्पा खुम्बु क्षेत्रमा बरिष्ठ समाजसेवीको रुपमा रहेको स्थानीय बताउछन् । त्यस्तै, काँग्रेसले उपाध्यक्षमा भने नाङा शेर्पालाई उम्मेदवार बनाएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको गाउँपालिकामा शेर्पाका पर्यटन प्रबद्र्धन र अधिक रुपमा खुम्बुका नागरिकले लिन सक्ने आर्थिक उपार्जनका बिषय प्राथमिकतामा छन् । खुम्बुका विकासका लागि नेताले भन्दा पनि यहीँको बासिन्दा र पर्यटन क्षेत्रसंग लामो समयदेखि आबद्ध ब्यक्तिहआवश्यक हुने शेर्पाले बताउनुभयो । आफु विजयी भए अरु सबै पार्टी र अगुवाहरुको सल्लाहमा गाउँपालिकाको समृद्धिमा समर्पित शेर्पाको दाबी छ ।

शेर्पासँगै एमाले र माओवादीले पनि चुनावी कार्यक्रम गरिरहेका छन् । नेकपा एमालेले यस गाउँपालिकामा निमदोर्जी शेर्पालाई अघि सारेको छ भने माओबादी केन्द्रले नाम्गेल शेर्पालाई गाउँपालिकाको उमेदवार बन्न टिकट प्रदान गरेको छ ।

यस गाउँपालिकामा चौरखिर्क, नाम्चे, खुम्जुङ र जुभिङका केही भाग समावेश गरिएको छ । आयस्रोतको दृष्टिकोणले यो गाउँपालिका सम्पन्न छ । सगरमाथा आरोहणका लागि आरोहीहरुले तिर्नेे शुल्कबाट नेपाल सरकारको नाममा बार्षिक ३० करोड रुपियाँ भन्दा बढी जम्मा हुने गर्दछ । सगरमाथा आरोहणका लागि नेपालीले १५ हजार देखि ७५ हजार रुपियाँसम्म र विदेशी नागरिकले दुई लाख ५० हजार रुपियाँदेखि ११ लाख रुपियाँसम्म शुल्क उठ्ने भएकाले हिमालको सलामी दस्तुर बापतको यो रकम पर्यटन मन्त्रालयले ७० प्रतिशत आफै राख्छ भने ३० प्रतिशत रकम सम्बन्धित क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागि खर्च गर्न जिल्लामा आउने गर्दछ ।

सामथ्र्यका हिसाबले सबैभन्दा बढी बलियो यस खुम्बु पासाङल्हमु गाउँपालिकामा सगरमाथा, ल्होत्से, नुप्त्से, आमाडब्लमलगायत आधा दर्जन हिमालको पनि बार्षिक आम्दानी राम्रो छ । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि प्रवेश शुल्कबाट वार्षिक करोडौँ आम्दानी हुन्छ । पर्यटकिय विमानस्थल लुक्ला, अर्धप्रयोगमा आइरहेको स्याङबोचे बिमानस्थल यस गाउँपालिकाको थप सम्पत्तिहरु हुन् । नेपालकै सबैभन्दा पुरानो पाङबोचे गुम्बा र एतिहासिक तेङबोचे गुम्बा पनि यसै गाउँपालिकामा पर्दछ । यहाँका अधिकांश नागरिक पर्यटनसाग सम्बद्ध व्यवसायमा गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार