काठमाडौँ, जेठ २३ गते । यस वर्ष निर्धारित समयमा मनसुन नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ । सामान्यतया जुन १० बाट मनसुन सुरु भएको मानिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार शर्माका अनुसार बङ्गालको खाडीबाट मनसुनी हावा पश्चिमी तथा उत्तरी क्षेत्रमा वहन सुरु गरिसकेको छ । उहाँले भन्नुभयो, ‘बङ्गालको खाडीबाट उठ्ने दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहबाट उठ्न थालिसकेको छ । यो भुटानसम्म आइपुगेको अनुमान गरिएको छ । थप वातावरण अनुकूल हुने हो भने आउँदो दुईतीन दिनभित्रै नेपाल प्रवेश गर्ने सम्भावना छ । ’
भारतीय मौसम विभागका अनुसार बङ्गालको खाडीमा सिर्जना भएको मनसुनी वायु भुटानको आकाशमा पुग्न थालेको छ । अनुकूल वातावरण बन्दै गएमा आगामी २४ गते देखि ३६ घण्टाभित्र भारतीय भूमिमा मनसुनी वायुको प्रभाव देखिने विभागले अनुमान गरेको छ ।
सोमबारको स्थिति हेर्दा बङ्गालको खाडीबाट मनसुनी न्यून चापीय रेखाहरू समुद्री सतहबाट काठमाडाँैको उचाइसम्म उठिसकेको देखिएको छ । सोमबार नेपालका पूर्वदेखि पश्चिमका क्षेत्रमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार भैरहवामा ६७ मिलिमिटर पानी परेको छ ।
सिमरामा ४८ मिलिमिटर र ओखलढुङ्गामा ४० मिलिमिटर पानी परेको छ । तापक्रमको स्थिति हेर्दा सबैभन्दा बढी दिपायलमा ४० डिग्रिसेल्सियस र धनगढीमा ३९.९ डिग्री सेल्सियस छ ।