खुम्बुको चिसोमा चुनावी गर्मी

विक्रम श्रेष्ठ
सोलुखुम्बु, जेठ २८ गते । पर्यटकीय मौसम सकिएपछि सोलुखुम्बुको हिमाली भेगका नागरिक चुनावी तयारीमा जुटेका छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हमु गाउँपालिकामा पर्यटक आगमनको मौसम सकिएपछि चुनावी चहलपहल ह्वात्तै बढेको छ ।

वैशाख ३१ मा चुनाव भएको भए चुनावी तयारीमा जुट्न नपाउने भन्दै चिन्तित देखिएका यहाँका नागरिक पर्यटनको वेमौसममा चुनाव हुन लागेपछि उत्साहित भएको बताउँछन् । खुम्जुङका पेम्बा शेर्पाले भन्नुभयो, ‘पहिलेकै मितिमा चुनाव भएको भए हामी निर्वाचनमा लाग्न भ्याउँदैन थियौँ, तर अहिले सिजन सकिएकाले फुर्सद भएकाले चुनावी प्रचारप्रसारमा लागेका छौँ ।’ यस अघिका निर्वाचनहरुमा खासै वास्ता नगर्ने यहाँका नागरिक स्थानीय तहको निर्वाचनमा भने निकै सक्रियताका साथ लागि परेका हुन् ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवारहरु मत माग्नमा व्यस्त छन् भने मतदाताहरुमा पनि सक्षम नेतृत्व चयनको पर्खाइमा छन् । यस गाउँपालिकामा प्रमुख दलहरु सबैले उम्मेदवार तयार पारिसकेका छन् । पार्टीभित्र नेताहरुको आन्तरिक विवादका कारण जिल्लामा नगरपालिका सहित गाउँपालिकाहरुमा उम्मेदवार छनोट गर्न नसकेको नेपाली काँग्रेसले यस गाउँपालिकामा भने निर्विरोध रुपमा चुङबा शेर्पालाई अध्यक्षको उमेदवार बनाएको छ । उहाँसँगै उपाध्यक्षमा नाङाल्हमु शेर्पालाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

अध्यक्षको उमेदवार बनेसँगै चुनावी प्रचारका लागि बरिष्ठ पर्यटन व्यवसायी समेत रहेका चुुङबा शेर्पाको दौडधुप बढेको छ । उहाँले यस गाउँपालिका अन्तर्गत पाङबोचे, फोर्चे, खुम्जुङ, थामे, नाम्चेलगायतका गाउँहरुमा पुगेर पहिलो चरण भेटघाट सकिएको बताउनुभयो । काँग्रेसले यस गाउँपालिकाको सबै वडामा उमेदवार टुङ्गो लगाइसकेको छ ।

त्यस्तै, एमालेले पनि चुनावी अभियानलाइ तीव्र पारेको छ । गाउँपालिकाको अध्यक्षका उम्मेदवार निमदोर्जी शेर्पाले एक महिनाअघि सबै उमेदवारको टुङ्गो लगाएर मतदाताहरुसँग घरदैलो अभियान चलाइरहेको बताउनुभयो । एमालेको पकड क्षेत्रका रुपमा हेरिने यहाँ यस पटक पनि जित्ने तयारी सहित लागि परेको एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाएपछि अहिले गाउँपालिकाको माथिल्लो गाउँहरुमा चुनावी प्रचार प्रसारको काम गरिरहेको जनाएको छ । अध्यक्षमा नाम्गेल शेर्पाको उम्मेदवारी निश्चित भएको माओवादी केन्द्रका जिल्ला सह–संयोजक धु्रव पराजुलीले बताउनुभयो । शेर्पाहरुको बाहुल्य रहेको यस गाउँपालिकामा सबै उमेदवार शेर्पा समुदायबाटै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार