तालिमले उत्साहित माध्यामिक शिक्षक

सन्तोष राउत

सोलुखुम्बु । विगत लामो समयदेखि जिल्लामा शिक्षक तालिम सञ्चालन गर्दै आएको ग्रामिण शिक्षा तथा वातावरण विकास (रीड) नेपालले माध्यामिक तहका शिक्षकलाई विषयगत रुपमा तालिम प्रदान गरेपछि शिक्षक उत्साहित भएका छन् । तालिममा विषयगत दक्षता बढाउने र शैक्षिक सामग्री निर्माण तथा प्रयोग गर्ने सीप पाएपछि उनीहरु उत्साहित भएका हुन् ।

पूरै जिल्लाका माध्यामिक तहमा पढाउने नेपाली, विज्ञान, र सामाजिक विषयका शिक्षकले दसदिने तालिम पाएपछि दुधकुण्ड नगरपालिकाको गार्मा माध्यामिक विद्यालयका शिक्षक युवराज खतिवडाले तालिम धेरै प्रभावकारी भएको बताउनुभयो । ‘तालिमले परम्परागत शैलीको शिक्षणमा परिवर्तन गरी शैक्षिक सामग्रीद्वारा बालमैत्री शिक्षण गर्न नयाँ सीप थपिएको छ, उहाँले भन्नुभयो ।

त्यस्तै, विगत लामो समयदेखि शिक्षण पेसामा कार्यरत महेन्द्रोदय माध्यामिक विद्यालयका शिक्षक राजनकुमार बस्नेतले पनि तालिमबाट धेरै नयाँ कुरा सिकेको र आफूले पहिला जानेका सीप समेत पुर्नताजगी भएको बताउनुभयो । आफूले पढाउने गरेको विधिलाई नयाँ तरिकाले बालमैत्री शिक्षण गर्न थप सहयोग भएकाले तालिम धेरै प्रभावकारी भएको उहाँको भनाइ छ ।

‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शिक्षक तालिम तथा शैक्षिक सामग्री वितरण गरिरहेको रीड नेपालले सदरमुकाम सल्लेरीमा विषयगत रुपमा विभिन्न शिक्षण विधि प्रदान गरेको रिड नेपालका शिक्षा विकास अधिकृत केशव गिरीले बताउनुभयो । अष्ट्रेलियन हिमालयन फाउन्डेशनको आर्थिक सहयोग, शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको समन्वयमा रिड नेपालले तालिमहरु आयोजना गरेको उहाँले जानकारलि दिनुभयो ।

बालबालिकाको समान सहभागिता तथा बालकेन्द्रित शिक्षण विधिद्वारा बालमैत्री विद्यालयको अवधारणाअनुसार शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित तालिमले जिल्लाको आधारभूत तहको शिक्षणमा सुधार आएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले बताउनुभयो । मावि तहमा नयाँ पाठ्यक्रम समेत लागू भएकाले तालिमले शिक्षकलाई अध्यापनमा सहज हुने उहाँको विश्वास छ ।

सो अवसरमा जिल्लामा शिक्षा कार्यालयका स्रोत व्यक्ति, विद्यालय निरीक्षक, सहयोगी शिक्षक तथा शिक्षकका पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिहरुलाई समेत समन्वयका लागि तालिम सञ्चालन गरेको रीड नेपालका प्रशिक्षक तोया अम्माईले जानकारी दिनुभयो । तालिम न्यूजिल्याण्डका दुईजना स्वयम्सेवक सिवन मर्फी, साहारा जोनस सहित स्वदेशी विषयतगत प्रशिक्षकहरुले तालिम दिएकाले प्रभावकारी भएको शिक्षकहरु बताउँछन् ।

तालिमले परम्परागत शिक्षणमा निकै परिवर्तन ल्याएको जुनवेसी माध्यामिक विद्यालयका विज्ञान शिक्षक ङवाङदोर्जी राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिले किताब मात्र बोकेर पढाउन जाने शिक्षकहरु अहिले अधिकांसले शैक्षिक सामग्री लिएर जाने गरेका छन् ।’ जिल्लाभरीका २५ माध्यामिक विद्यालयका ८० जना शिक्षक तथा शिक्षिकाहरुले तालिम लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार