एमालेबाट वागी उम्मेदवार घोषणा

हिमशिखर समाचारदता

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुका पुराना वाम नेता लोचनकुमार शर्माले नेचासल्यान गाउँपालिकाको स्थानीय तहको चुनावमा स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

नेकपा एमाले सोलुखुम्बुको संस्थापक नेता रहनु भएका शर्माले पार्टी निरङ्कुश तरिकाले अगाडी बढेको र कार्यकर्ताको भावना विपरीत अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार घोषणा गरेको बताउनुभयो । नेचासल्यान गाउँपालिकामा जनताले पत्याएका नेताभित्र शर्मा पर्ने बताइन्छ ।

एमालेले पार्टी उपाध्यक्ष डुफकुमार बाँस्तोलाई एमाले नेता रविन्द्र अधिकारीको उपस्थितिमा अध्यक्षको घोषणा गरेपछि रुष्ट बनेका शर्माले नेचामा पत्रकार सम्मेलन गरी उम्मेदवारी सार्वजनिक गर्नुभएको हो । जिल्ला कमिटी सोलुखुम्बुले सर्वसम्मत नाम सिफारिस गर्न नसकेपछि लोचनकुमार शर्मा, डुफकुमार बाँस्तोला र धर्मध्वज खत्रीको नाम प्रदेस कमिटीमा पठाएको थियो ।

यसअघि २०५४ सालको स्थानीय निकायको निर्वाचनमा शर्मा नेचावेतघारी गाविसबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो भने पार्टीको विभिन्न जिल्लास्तरको जिम्मेवारी निर्वाह गरेको अनुभव उहाँको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार