उम्मेदवार छान्दै नयाँ शक्ति र संघीय फोरम गठबन्धन


हिमशिखर समाचारदाता

सोलुखुम्बु, जेठ ३१ गते । उम्मेदवारको मनोनयनको मिति नजिकिरहँदा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरमको संयुक्त गठबन्धनले धमाधम प्रमुखलगायतका पदमा उम्मेदवार चयन गरिरहेको जनाएको छ । नयाँ शक्ति नेपाल सोलुखुम्बुले पाँच गाउँपालिकाको प्रमुखको उम्मेदवार छनौट गरेको छ भने संघीय समाजवादी फोरमले एक गाउँपालिकामा उम्मेदवार घोषणा गरेको छ । सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् ।

नयाँ शक्तिले प्रमुख पदमा लिखु पिके गाउँपालिकामा मुनिन्द्र बस्नेत, सोताङ गाउँपालिकाको प्रमुखमा प्रेमबहादुर राई र उपप्रमुखमा मिश्र बस्नेत, महाकुलुङ गाउँपालिकामा रामबहादुर खड्का, दुधकोशी गाउँपालिकामा चन्द्रप्रसाद घिमिरे र दुधकौशिका गाउँपालिकामा मनिकुमार तामाङलाई प्रमुखको उम्मेदवार बनाएको जिल्ला संयोजक श्याम क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय समाजवादी फोरमले खुम्बु पासाङल्हमू गाउँपालिकामा महेश रानामगरलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

नयाँ शक्तिले बाँकी रहेका गाउँ तथा नगरपालिकामा भने संघीय समाजवादी फोरमसँग छलफल गरी उम्मेदवार टुङ्गो लगाउने नयाँ शक्ति नेपालका केन्द्रिय कार्यकारी सदस्य तथा आर्थिक विभाग प्रमुख सुनिल खड्काले बताउनुभयो । उपाध्यक्ष र वडाका उम्मेदवारको चयन पनि संघीय समाजवादी फोरमसँग गठनबन्धन गरी निर्णय गर्ने गरी छलफल भईरहेको नयाँ शक्तिले जनाएको छ ।

उम्मेदवार घोषणा गरिएको स्थानमा चुनावी कार्यक्रम शुरु गरिएको गठबन्धनले जनाएको छ । सोलुखुम्बुको कोशीपारीको सोताङ गाउँपालिकाबाट चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको हो । पार्टीले भेला, घरदैलो, ¥यालीलगायतका कार्यक्रम गरिरहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार